बाढीको छैटौँ दिन रसुवाको टिमुरे क्षेत्रमा खोज तथा उद्धारको कामले तीव्रता पाएको छ । एकैदिन सो क्षेत्रमा ६१ वटा शव भेटिएका छन् । सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले हेलिकोप्टरमार्फत थप जनशक्ति लगिएसँगै खोज तथा उद्धारलाई तीव्रता दिइएको र ठुलो संख्यामा शव भेटिएको बताए ।
एक–दुईवटा घरबाहेक टिमुरे बजार बाढीले बगाएको छ । बजार क्षेत्रको भग्नावशेषमा ठुलो संख्यामा शव भेटिएका हुन् । सो क्षेत्रमा सोमबारदेखि फरेन्सिकसहितको टोली पनि खटिएको छ । त्यहाँ भेटिएका शवलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो ।
बाढीले सडक सञ्जाल भत्काएका कारण रसुवाका विभिन्न क्षेत्रमा ६ दिनपछि बल्ल खोज तथा उद्धार हुन थालेको हो । ती क्षेत्रका कार्यालयसहितकै प्रहरीसमेत बाढीले बगाएपछि उद्धारको काममा ढिलाइ भएको थियो । रसुवाका अझै पनि कतिपय स्थानमा सुरक्षाकर्मी पुग्न नसकेको स्थानीयको गुनासो छ ।