बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) र यससँग आबद्ध ग्रुप कम्पनीहरू तथा बिपिसी कर्मचारीहरूको तर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि ५१ लाख ४१ हजार ९८६ रुपैयाँ सहयोग गरेको छ।
सरकारले गरिरहेको खोज, उद्धार तथा राहतको प्रयासमा ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त रकमको चेक इप्पानमार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरेको हो।
यो सामूहिक सहयोग रकममा बुटवल पावर कम्पनी र यसका कर्मचारीहरूको तर्फबाट ३३ लाख ३६ हजार ९८६ रुपैयाँ संकलन गरिएको छ। जसमा कम्पनीको २२ लाख र व्यवस्थापन तथा कर्मचारीहरूको ११ लाख ३६ हजार ९८६ रुपैयाँ योगदान रहेको छ।
त्यसैगरी, समूहअन्तर्गतको न्यादी हाइड्रो पावर लिमिटेडले ५ लाख ५० हजार, हिमाल पावर लिमिटेडले ५ लाख, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले ५ लाख ५ हजार र खुदी हाइड्रो पावर लिमिटेडले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन्।