भोटेकोशी र त्रिशूली नदी क्षेत्रका जलविद्युत् परियोजनाका सुरुङमा फसेका अनुमानित पाँच सयभन्दा धेरै मजदुर–कर्मचारीको पाँच दिनसम्म पनि उद्धार हुन सकेको छैन । सरकारले निकै ढिला मात्रै भारतीय र चिनियाँ पक्षलाई पनि उद्धारका लागि अनुमति दिएपछि दुई देशका उद्धारकर्ता आइतबारदेखि मात्रै खटिएका छन् ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को तथ्यांक विश्लेषणमा विभिन्न जलविद्युत् आयोजनामा एक हजारहाराहारी सम्पर्कविहीन छन् । उनीहरू आयोजनाका हेडवक्र्स, पावरहाउस, सुरुङ, कर्मचारी आवासक्षेत्रलगायत ठाउँमा रहेका कामदार, कर्मचारी र इन्जिनियरहरू हुन् । यीमध्ये पाँच सयभन्दा धेरै आयोजनाका सुरुङभित्र छन् । प्राधिकरणका अनुसार ती आयोजनाका २७९ जनाको भने उद्धार भएको छ । बाढीबाट माथिल्लो त्रिशूली १, त्रिशूली ३ ‘ए’, माथिल्लो त्रिशूली ३ ‘बी’, चिलिमे, लाङटाङ र रसुवागढी जलविद्युत् क्षतिग्रस्त भएका छन् ।
माथिल्लो त्रिशूली १ मा ५७६ सम्पर्कविहीन, तीन सयभन्दा बढी सुरुङभित्र
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को तथ्यांकअनुसार माथिल्लो त्रिशूली १ मा ५७६ जना सम्पर्कविहीन छन् जसमध्ये तीन सयभन्दा बढी सुरुङभित्र फसेको अनुमान छ । अरू भने पावरहाउस, आवास क्षेत्रलगायत ठाउँबाट बेपत्ता भएका छन् ।
परियोजनाका प्रोजेक्ट म्यानेजर गिरिराज अधिकारीले ५७६ कर्मचारी सम्पर्कविहीन भएको बताए । ‘यसअघि बाँधलगायत क्षेत्रबाट २५४ जनाको उद्धार भएको हो, तर अझै ५७६ जना सम्पर्कविहीन छन्,’ उनले भने, ‘तीमध्ये तीन सयभन्दा धेरै सुरुङभित्र रहेको अनुमान छ ।’
६५ अर्ब लागतको कोरियन लगानीको २१६ मेगावाटको यो परियोजना निर्माणको अन्तिम चरणमा थियो । ८६ प्रतिशत काम सकिएको परियोजना एक वर्षभित्र सञ्चालनमा ल्याउने गरी एक हजारभन्दा बढी कर्मचारी परिचालन गरिएको थियो । बाढीपछि हालसम्म परियोजनाका १० कोरियनसहित २५४ जनाको उद्धार भएको छ ।
परियोजनाको झन्डै १० किलोमिटर लामो सुरुङ ब्रेक थ्रु भइसकेकाले सुरुङभित्र अक्सिजन प्रवाह हुन्छ । जसले सुरुङभित्र जीवन तुलनात्मक रूपमा सहज बनाउँछ । तर, चिनियाँ उद्धार टोलीले बिहीबारदेखि खोजी थालेको छ ।
माथिल्लो त्रिशूली– ३ ‘ए’मा ४२ कर्मचारी सम्पर्कविहीन, सुरुङभित्र ३५
त्रिशूली ३ ‘ए’ मा ४२ जना सम्पर्कविहीन छन्, जसमा ३५ जना सुरुङभित्र रहेको बताइएको छ । सञ्चालनमा आइसकेको यो परियोजना विद्युत् प्राधिकरणकै हो । ४२ कामदार मर्मतसम्भारका लागि परियोजनामा थिए । यहाँ सेनासहित प्राविधिकले उद्धारको प्रयास गरे पनि सुरुङको मुख नै पहिचान गर्न नसकेकामा आइतबार दिउँसो ‘क्राउन हेड’ (सुरुङको मुख्य भाग)मा पुगेर प्वाल पार्न सफल भएका थिए ।
डोरीको सहायताले उद्धार टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि ब्लास्टिङ तथा प्वाल थप फराकिलो पार्ने काम गरिरहेका छन् । टनेल सफा गरिसकेपछि अक्सिजनसहित उद्धारकर्मीलाई टेनेलभित्र पठाउने तयारी छ । उनीहरूको साथमा क्यामेरा हुनेछ ताकि भित्रको वास्तविक अवस्था बाहिरबाट पनि अवलोकन गर्न सकियोस् । पावरहाउसको टर्वाइन मेसिन हलसम्म पुगेपछि भित्र फसेकाहरूको वास्तविक अवस्था, स्थान र सुरक्षास्थितिबारे थप यकिन हुने अपेक्षा गरिएको छ ।
त्यस्तै, उद्धारमा प्रयोग गर्न आइतबार हेलिकोप्टरमार्फत एक्स्काभेटर र डोजर नुवाकोटको बट्टार पु¥याइएको छ । खण्ड–खण्ड गरेर लगिएकोमा परियोजनास्थलमै पुर्याएर फिट गरी प्रयोग गर्ने प्राधिकरणले जनाएको छ ।
लाङटाङ जलविद्युत्को सुरुङभित्र ४१ जना
निजी क्षेत्रले निर्माण गरिरहेको २० मेगावाटको लाङटाङ जलविद्युत्को सुरुङमा ४२ जना फसेको बताइएको छ । आइतबार त्यस क्षेत्रमा भारतीय टोलीले हेलिकोप्टरबाट रेकी गरी अवलोकन गरेको थियो । अब सोही टोलीले उद्धार थाल्नेछ । आइतबारै नेपाली सेना परिचालन गरिएकामा कुनै सफलता मिलेन । यही परियोजनामा सुरुङबाहिर रहेका १९ जनाको यसअघि नै उद्धार भइसकेको छ ।
माथिल्लो त्रिशूली–३ ‘बी’का २१३ जना सम्पर्कविहीन
विद्युत् प्राधिकरणले निर्माण गरिरहेको ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’का २१३ कर्मचारी, श्रमिक तथा इन्जिनियर सम्पर्कविहीन छन् । जसमा १२५ जना फेवा कन्स्ट्रक्सनका कर्मचारी हुन् । यीमध्ये कतिलाई बाढीले बगायो र कति सुरुङभित्र छन् भन्ने निश्चित छैन । यो माथिल्लो त्रिशूली ३ ‘ए’कै क्यासकेड परियोजना हो । दुई वर्षभित्र सञ्चालनमा ल्याउने भनिएको परियोजनामा पूर्ण क्षमतामा काम भइरहेको थियो । पावरहाउससहित अधिकांश सिभिल संरचना निर्माणको अन्तिम चरणमा थिए । तर, बाढीले परियोजनाको सुरुङबाहेक पावरहाउसलगायत सबै पूर्वाधार पूर्ण रूपमा बगाएको छ । सुरुङ पनि लेदोले भरिएको छ । नेपाली सेनासहित चीनबाट आएको टोली आइतबार यो परियोजनामा परिचालन भए पनि संरचना रहेको स्थान मात्रै पहिचान गर्न सफल भएको छ ।
चिलिमेको सुरुङमा आठजना अलपत्र
विद्यत् प्राधिकरणकै २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको भूमिगत सुरुङ तथा विद्युत्गृहमा पनि आठजना फसेका छन् । परियोजना सञ्चालनका लागि उनीहरू त्यहाँ गएका थिए । संरचना रहेको स्थलमा आइतबार भारतीय प्राविधिक टोलीसमेतको सहभागितामा उद्धार सुरु गर्न थालिएको थियो । तर, पुनः आएको बाढीले यसअघि बचेखुचेका बाँध क्षेत्रका संरचना पनि भत्काएपछि उद्धार रोकिएको छ । प्रवद्र्धक चिलिमे जलविद्युत् कम्पनीका अनुसार विद्युत्गृहमा फसेकाहरूको उद्धारका सम्बन्धमा के गर्ने भन्नेबारे सोमबार निर्णय गरिने भएको छ ।
रसुवागढी जलविद्युत्का ९३ जना सम्पर्कविहीन
सञ्चालनमा आइसकेको रसुवागढी जलविद्युत् परियोजनामा नियमित सञ्चालन तथा मर्मतका लागि गगएका ९३ जना सम्पर्कविहीन छन् । यहाँ आइतबार मात्रै उपकरणसहित उद्धार टोली पुगेको छ, तर काम हुन सकेको छैन । हराइरहेकामा कम्पनीका ४९ कर्मचारी, निर्माण कम्पनी शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ र दुई अन्य ज्यालादारी कर्मचारी छन् । त्यस्तै, सिडब्लुईका चार र भनस कन्स्ट्रक्सनका तीनजना हराइरहेका छन् ।
यसअघि भूमिगत डिसेन्डरमा फसेका ६ जनामध्ये चारजना दुई दिन लगाएर आफैँ बाहिर निस्कन सफल भएपछि सेनाले हेलिकोप्टरबाट उद्धार गरेको थियो । उनीहरू काठमाडौं आइसकेका छन् । त्यस्तै, अन्य तीनजनाले पनि वेलैमा सुरक्षित स्थानमा पुगेर ज्यान जोगाएका थिए ।
अन्य जलविद्युत् आयोजनामा पनि फसेका छन् मान्छे
१२० मेगावाटको रसुवा भोटेकोशी जलविद्युत्का चार र पाँच मेगावाटको मैलुङ खोला जलविद्युत्का सातजना सम्पर्कविहीन छन् । उनीहरूको उद्धार कार्य अझै सुरु हुन सकेको छैन । त्यस्तै, २४ मेगावाटको त्रिशूली जलविद्युत्का दुई, १४.१ मेगावाटको देवीघाट जलविद्युत्का एक र १५.६ मेगावाटको मिडिल त्रिशूलीका दुईजना पनि सम्पर्कमा छैनन् । त्यसैगरी, त्रिशूली ३ ‘बी’ हब सबस्टेसनका १६, चिलिमे त्रिशूली २२० केभी प्रसारणलाइनका दुई र रसुवा वितरण केन्द्रका एकजना सम्पर्कविहीन छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष मोहन डाँगी जलविद्युत्का सुरुङमा फसेकाहरूको उद्धारमा ढिलाइ भएको बताउँछन् । ‘पाँच दिनसम्म पनि सुरुङमा फसेकाहरूको उद्धार हुन सकेन । निकै ढिलो भयो । छिट्टै गरेको भए आशा गर्ने ठाउँ थियो,’ उनले भने, ‘यद्यपि, भौगोलिक कठिनाइका कारण पनि चुनौती भएको हो । सुरुङभित्र लेदो पसेका कारण झनै ढिलाइ भयो ।’
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठले जलविद्युत् परियोजनाका प्रवद्र्धकहरूबाटै सम्पर्कविहीनको तथ्यांक संकलन भइरहेको, तर अद्यावधिक भइरहने भएकाले केही संख्या तलमाथि पर्न सक्ने बताए । सुरुङमा फसेकाहरूको उद्धारमा ढिलाइ विभिन्न कारणले भएको उनको भनाइ छ ।
‘सुरुङ धेरै तलसम्म पुरिएको रहेछ । त्यसका लागि धेरै इक्युपमेन्ट चाहिने रहेछ, तर त्यो ढुवानी गर्न चुनौती भयो । ढुवानीपछि राखेर काम गर्ने ठाउँ पनि भएन । यसकारण उद्धारमा चुनौती भएको हो,’ उनले भने, ‘हामीले सकेसम्म छिटो गर्न खोजेका हौँ, तर विभिन्न कठिनाइले ढिलाइ भएजस्तो देखिएको छ ।’
आइतबार बिहान आएको बाढीले पनि उद्धार प्रभावित भएको उनको भनाइ छ । ‘त्रिशूली ३ ‘ए’मा बल्ल सुरुङ भेटियो । चिलिमेमा गाह्रो भएको छ । आइतबार चिलिमेमा छिर्ने प्रयास भएको थियो, तर भित्र हिलो जमेका कारण सकिएन,’ उनले भने, ‘यस्तो उद्धार नेपालका लागि नयाँ पनि भयो । त्यसैले अधिकतम प्रयास हुँदा पनि उद्धार हुन सकेको छैन ।’
कति मान्छे परे ? फरक निकायका फरक तथ्यांक
जलविद्युत् परियोजनाहरूमा सम्पर्कविहीन भएकाहरूको अंकमा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को तथ्यांक समान छैन । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९३३ सम्पर्कविहीन भएको जनाएको छ । २७९ को उद्धार भएको रेकर्ड पनि प्राधिकरणसँग छ । इप्पानको पछिल्लो तथ्यांकमा ८९७ जना सम्पर्कविहीन भएको उल्लेख छ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो जलविद्युत्, प्रसारण, सबस्टेसन र वितरण परियोजनाका कुल ३७८ कर्मचारी सम्पर्कविहीन भएको जनाएको छ । प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले प्राधिकरणअन्तर्गतका उत्पादन र पूर्वाधार परियोजनाका ३७८ कर्मचारी सम्पर्कविहीन भएको भन्दै उद्धारको प्रयास भइरहेको बताए ।
रसुवामा अझै पुगेन बिजुली
बाढीपछि पूर्ण रूपमा विद्युत् अवरुद्ध भएको रसुवामा अझैसम्म बिजुली आपूर्ति भएको छैन । विद्युत् प्रभावित भएका नुवाकोट र धादिङमा शनिबारसम्म अधिकांश ठाउँमा सञ्चालनमा ल्याइए पनि रसुवामा ढिलाइ भएको हो । नुवाकोटदेखि छुट्टै तार तानेर विद्युत् पुर्याउने प्रयास भइरहेको र सोमबारसम्म विद्युत् पुर्याइने प्राधिकरणको दाबी छ ।
भोटेकोशी र त्रिशूली करिडोरका सबै विद्युत् परियोजना क्षतिग्रस्त
बाढीले भोटकोशी र त्रिशूली करिडोरका सबै विद्युत् परियोजना प्रभावित भएका छन् । नुवाकोट र रसुवा जिल्लामा सञ्चालित तथा निर्माणाधीन गरी करिब १५ परियोजना छन् । बाढीका कारण १२ परियोजनाको ४३१ मेगावाट विद्युत् उत्पादन नै बन्द भएको छ । २२० केभीको त्रिशूली ३ हब सबस्टेसन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । यस सबस्टेसनमा यस करिडोरमा विद्युत् संकलन गरेर चिलिमे–त्रिशूली ३ बी हब–मातातीर्थ २२० केभी प्रसारणलाइनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । तर, अहिले त्यो प्रसारणलाइन पनि क्षतिग्रस्त छ ।
सुरुङभित्र उत्खननको प्रयास जारी, मिलेको छैन सफलता
उद्धारमा भारत, चीन र कोरियाका विशेषज्ञ टोली पनि सक्रिय
नुवाकोट र रसुवास्थित विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारको प्रयास गरिए पनि आइतबार बेलुकासम्म पनि सफलता मिलेको छैन । विदेशी विज्ञहरू ल्याएर काम गर्दासमेत उद्धारमा कठिनाइ भइरहेको सुरक्षाकर्मीहरू बताउँछन् ।
सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि आइतबार भारतीय र चिनियाँ सेनाका विशेषज्ञसँगै कोरियाली विशेषज्ञ टोली पनि थपिएका छन् । रसुवाको माथिल्लो त्रिशूली–१ मा चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा उद्धारको प्रयास जारी राखेको छ ।
सरकारले नुवाकोटको माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनाको सुरुङमा उद्धारमा सुरक्षाकर्मी केन्द्रित गरेको छ । जहाँ नेपाली सेना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीका विशेषज्ञ गरी ९० जनाको संयुक्त टोली खटिएको छ । सुरुङको मुख पत्ता लगाए पनि लेदो भरिएका कारण सुरक्षाकर्मी भित्र प्रवेश गर्न सकेका छैनन् । टोलीले आइतबार दिउँसो सुरुङको मुख्य भागमा पुगेर दुई–तीन फिटको प्वाल बनाएको थियो । डोरीको सहायताले टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि ठुला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको प्रधानमन्त्रीले बालेन्द्र शाहले आइतबार साँझ फेसबुकमार्फत जानकारी दिएका छन् । सेनाका अनुसार टनेलभित्र पानी भरिएको हुँदा कम्प्रेसरबाट अक्सिजन पठाई पम्पबाट पानी बाहिर फाल्ने कामसमेत भएको छ ।
माथिल्लो त्रिशूली ३ ‘बी’ मा पनि चिनियाँ विशेषज्ञ टोलीले सेनासँगको समन्वयमा उद्धारको प्रयास गरिरहेको छ । रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनामा भारतीय टोलीले सेनासँग समन्वयमा रेकी गरी पम्प र एक्स्काभेटर लगेर थप काम सुरु गरेको छ । सैनिक अधिकारी सुरुङभित्र प्रवेश गरे पनि केही फेला नपरेको जानकारी दिइएको छ । रसुवाकै मैलुङ खोला जलविद्युत् आयोजनामा कोरियन विशेषज्ञको टोलीले सेनासँग समन्वय गरी हवाई रेकी गरेर उद्धार कार्य थालेको छ । चिलिमे हाइड्रोको टनेलमा खटिएको उद्धार टोली करिब सय मिटरभित्र पुगेको थियो । टनेल पूर्ण रूपमा टालिएको अवस्थामा फेला परेको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताए ।
सुशीलकुमार श्रेष्ठ, सिनियर डिभिजनल इन्जिनियर, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण
सुरुङ धेरै तलसम्म पुरिएका रहेछन् । त्यसका लागि धेरै इक्युपमेन्ट चाहिने रहेछ, तर त्यो ढुवानी गर्न चुनौती भयो । ढुवानीपछि राखेर काम गर्ने ठाउँ पनि भएन । यसकारण पनि उद्धारमा चुनौती भएको हो । हामीले सकेसम्म छिटो गर्न नै खोजेका हौँ । त्रिशूली ३ ‘ए’मा बल्ल सुरुङ भेटियो । चिलिमेमा गाह्रो भएको छ । आइतबार चिलिमेमा छिर्ने प्रयास भएको थियो, तर भित्र हिलो जमेका कारण सकिएन । यस्तो उद्धार नेपालका लागि नयाँ पनि भयो । त्यसैले अधिकतम प्रयास हुँदा पनि उद्धार हुन सकेको छैन ।
मोहनकुमार डाँगी, अध्यक्ष, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)
पाँच दिनसम्म पनि सुरुङमा फसेकाहरूको उद्धार हुन सकेको छैन, निकै ढिलो भयो । यद्यपि, भौगोलिक कठिनाइका कारण पनि चुनौती भएको हो । सुरुङभित्र लेदो पसेका कारण झनै ढिलाइ भयो ।