मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १४ आइतबार
  • Monday, 31 August, 2026
प्रेम गौतम काठमाडाैं
२o८३ भदौ १४ आइतबार o७:५३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

समानान्तर महाधिवेशनको तयारीमा देउवा पक्ष

१५औँ महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने, १७ भदौमा महाधिवेशन तयारी समितिको बैठक आह्वान

Read Time : > 1 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ १४ आइतबार o७:५३:oo

पार्टीको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहँदा कांग्रेसमा विशेष महाधिवेशन पक्षधर र १४औँ महाधिवेशन पक्षधर दुवै समूह महाधिवेशनको तयारीमा लागेका छन् । विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको केन्द्रीय समितिले आगामी १६–१९ असोजमा १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । संस्थापन पक्षलाई काउन्टर दिन देउवा पक्षले पनि १५औँ महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने तयारी गरेको छ । 

देउवा पक्षले महाधिवेशनको कार्यतालिका ल्याउन १७ भदौमा तयारी समितिको बैठक बोलाएको छ । बैठकमा १४औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमितिमा पदाधिकारी र सदस्य एवं आमन्त्रित सदस्यलाई उपस्थितिका निम्ति अनुरोध गरिएको छ ।

बैठकमा तीन एजेन्डा तय गरिएको छ । पहिलो एजेन्डामा १५औँ महाधिवेशन तयारी सम्बन्धमा छ । दोस्रो एजेन्डा समसामयिक विषय र तेस्रो विविध रहेको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिअन्तर्गतको सचिवालय समन्वय समितिका संयोजक दीपक कुइँकेलले जानकारी दिए ।

अदालतमा आधिकारिकता विवाद विचाराधीन रहेको अवस्थामा १५औँ महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिए पनि अन्तरकालीन आदेश दिन अस्वीकार गरेपछि देउवा पक्ष पनि समानान्तर महाधिवेशनको तयारीमा जुटेको हो ।

देउवा पक्षका १५औँ केन्द्रीय महाधिवेशन तयारी समिति संयोजक डा. शशांक कोइरालाले आधिकारिकताको मुद्दा अदालतमा विचाराधीन भए पनि मंसिरमा पदावधि सकिने भएकाले महाधिवेशनको तयारीमा लाग्न आग्रह गरेका छन् । उनले अधिवेशन तथा महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरिने जानकारी पनि गराएका छन् ।

‘अधिवेशन तथा महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरिनेछ । तथाकथित विशेष महाधिवेशनबाट स्वघोषित कार्यसमितिले गर्ने गराउने अधिवेशन तथा महाधिवेशनसम्बन्धी गतिविधिमा सामेल नभई १४औँ महाधिवेशनवाट निर्वाचित वैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न सबै तहका इमानदार, स्वाभिमानी एवं जिम्मेवार पदाधिकारी, सदस्य, प्रतिनिधि, समर्थक तथा शुभचिन्तक साथीहरूमा हार्दिक अनुरोध गर्दछु,’ कोइरालाले भनेका छन् ।

१४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व भएको बोध गर्दै १५औँ अधिवेशन तथा महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरी पुनः प्रक्रिया प्रारम्भ गरिनेछ,’ विज्ञप्तिमा छ । उनले आधिकारिकता १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले नै पाउने दाबी पनि गरेका छन् ।  ‘कांग्रेसको आधिकारिताको विवाद सम्मानित सर्वोच्च अदालतले आफ्नो कार्यविधिभित्रै रहेर विगतका प्रतिपादित सिद्धान्त र अभ्यासकै आधारमा यथाशीघ्र टुंग्याउने र हामीले न्याय पाउने छौँ भन्ने गहिरो विश्वास पनि रहेको छ । आवेग, उत्तेजना, गालीगलौज तथा षड्यन्त्रका तानाबानाले होइन, संयमता, धैर्यता, आत्मीयता र हार्दिकताका साथ सम्पूर्ण लोकतन्त्रवादी व्यक्ति र समुदायको साथले पुनः सबै तहमा सबल, सक्षम र लोकप्रिय पार्टीका रूपमा नेपाली कांग्रेस निर्माण गर्नेछौँ भन्ने दृढ विश्वास व्यक्त गर्दछु,’ कोइरालाले भनेका छन् ।

केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद अदालतमा रहेको अवस्थामा पार्टीमा थप विवाद सिर्जना गर्ने वा पार्टीमा थप विभाजन पुर्‍याउने गतिविधि कुनै पनि पक्षले गर्न नहुने पनि उनले बताएका छन् । ‘कुनै एक पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी अधिवेशनको गतिविधि गर्न लागेको तथ्य प्रमाणका आधारमा मुद्दा किनारा नलागेसम्म कुनै पनि पक्षले गर्ने यस्ता कार्यक्रम रोक्न माग गरिएको निवेदनमा सर्वोच्च अदालतबाट रोक्न आदेश नआए पनि १४औँ महाधिवेशनबाट निर्वाचित हाम्रो वैधानिक केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिकाबमोजिमका क्रियाशील सदस्यता व्यवस्थापन समिति, क्रियाशील सदस्यता छानबिन समिति, निर्वाचन समिति गठनलगायतका कार्य गरी सबै तहका अधिवेशन गरिनेछ,’ विज्ञप्तिमा छ ।

संस्थापन पक्षले भने विधि, विधानले नचिन्ने अधिवेशन, महाधिवेशनको नाराको अर्थ नहुने दाबी गरेको छ । कांग्रेस सहमहामन्त्री प्रकाश स्नेहीले आधिकारिक अधिवेशन/महाधिवेशनमा मात्रै विश्वास गर्न उनले आग्रहसमेत गरे ।