सुगम र एभरेस्ट ब्रान्डको ग्यास लिएर आएका १४ वटा गाडी कान्ति लोकपथको ललितपुर खण्डमा आएको पहिरो कारण बिचबाटोमै अलपत्र परेका छन्।
साँझसम्म काठमाडौं आइपुग्ने गरी हेटौँडाबाट १३ सय १२ सिलिन्डरमा ग्यास भरेर आएका गाडीहरू साँझ ६ बजेदेखि पहिरोका कारण रोकिएको उद्योगी शिवप्रसाद घिमिरेले जानकारी दिए।
‘साँझसम्म काठमाडौं आइपुग्नुपर्ने गाडी पहिरोका कारण बाटोमै रोकिएका छन्,’ उनले भने, ‘पहिरो पन्छाउन प्रशासनले पनि तदारुकता देखाएको छैन।’ टीकाभैरवदेखि २० किलोमिटर हेटौँटातर्फ ग्यास बोकेका गाडीहरू रोकिएको उनले जानकारी दिए। ‘राति अनकन्टारमा ग्यासका गाडी फसेका छन्।
'विपतमा सेवा गरौँ भन्न खोज्दा आपत् आइलाग्यो, प्रशासनले जतिसक्दो छिटो पहिरो पन्छाउनुपर्नेमा अपेक्षाकृत सक्रियता देखाएको छैन,’ घिमिरेले भने। मकवानपुर प्रशासनले कान्ति लोकपथमार्फत ग्यास लैजान सुझाएकै कारण सोही बाटो प्रयोग गरेको घिमिरेले बताए। तेलका ट्यांकरहरू भने त्रिभुवन राजपथ हुँदै आइरहेका छन्।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले साँझ ६ बजेबाट पहिरो जान थालेकाले बाटो अवरुद्ध भएको बताए। ‘आज बिहान पनि पहिलो पन्छाएर बाटो सुचारु गरेका थियौँ। तर, पानी निरन्तर परेका कारण साँझ पुनः पहिरो गएर बाटो अवरुद्ध भयो,’ उनले भने, ‘अहिले पनि पानी परिरहेको प्रहरीमार्फत जानकारी पाएको छु। अहिले राति बाटो खुलाउन सक्ने अवस्था नै छैन। त्यसैले, भोलि बिहान मात्रै बाटो खुलाउने काम हुने अवस्था छ।’
उद्योगी घिमिरेले रातको समयमा बाटो खुलाउन पहल नगर्ने प्रशासनको निर्णय गैरजिम्मेवार भएको बताए। ‘अन्तर्राष्ट्रिय जगतबाट मानिसहरू आएर खटिएको छ। तर, हाम्रै मान्छेहरू रातको समयमा काम नगर्ने भनेर पन्छिन मिल्दैन,’ उनले भने, ‘१४ गाडीमा ५० भन्दा बढी कर्मचारी भोकभोकै छन्। यस्तो विपतमा सहयोग गरौँ भन्दा राज्यले पनि सहजीकरण गर्नु आवश्यक छ।’
सरकारले आइतबार दिउँसो तराईका उद्योगमा सिलिन्डर रिफिल गरेर काठमाडौं ल्याउने निर्णय गरेको थियो। उक्त निर्णयपछि घिमिरेको एभरेस्ट र सुगम ग्यास मात्रै आज काठमाडौं आएको थियो। तर, पहिरोको कारण अलपत्र परेपछि तराईबाट काठमाडौंमा ग्यास ओसार्ने कार्यमा खटिएका उद्योगी निराश भएका छन्।