काठमाडौं/ नेपालमा जलाशययुक्त जलविद्युत् आयोजना विकासका लागि सहकार्य गर्न क्यानडासहित अन्तर्राष्ट्रिय समुदायलाई स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आग्रह गरेको छ ।
क्यानडा ड्याम एसोसिएसनको वार्षिक सम्मेलन २०२६ तथा ‘ट्रेड सो’ कार्यक्रमलाई सम्बोधन गर्दै इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले क्यानडासँग बाँध इन्जिनियरिङ, जलाशययुक्त आयोजना, जलविद्युत् प्रविधि र जलवायु उत्थानशील पूर्वाधार विकासमा रहेको अनुभव उपयोगी हुने भन्दै क्यानडासँग सहकार्य गर्न सकिने बताएका हुन् ।
नेपालले पर्याप्त जलविद्युत् सम्भावना र विस्तार हुँदै गएको ऊर्जा बजार उपलब्ध गराउन सक्ने भएकाले दुवै देशका लागि लाभदायक साझेदारीको अवसर रहेको उनले उल्लेख गरे ।
‘सन् १९९९ देखि जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुरु भएपछि नेपालको विद्युत् उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि भएको छ,’ उनले भने, ‘नेपालमा विद्युत् उत्पादनको कुल जडित क्षमता करिब ४.३ गिगावाट पुगेको छ, जसमध्ये ८० प्रतिशतभन्दा बढी क्षमता निजी क्षेत्रबाट विकास गरिएका आयोजनाको योगदान छ ।’
नेपालले सन् २०३५ सम्म विद्युत् उत्पादनको जडित क्षमता ३० हजार मेगावाट पुर्याउने महŒवाकांक्षी लक्ष्य लिएको बताउँदै डाँगीले यो लक्ष्य हासिल गर्न हालको क्षमताबाट थप २४ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्नुपर्ने बताए ।