मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ। मोरङसहित आसपासका जिल्लामा विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले निर्माण गरिएको सबस्टेसनलाई कात्तिक १४ र १५ गते चार्ज गर्ने तयारी गरिएको छ।
सबस्टेसन सञ्चालनमा ल्याउन पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुहवी–दमक खण्डमा पर्ने केरौन सबस्टेसनमा लाइन लुप इन र लुप आउट गर्ने काम गरिनेछ। यसका लागि शनिबार र आइतबार बिहान ४ बजेदेखि मध्याह्न १२ बजेसम्म दुहवी–दमक १३२ केभी प्रसारण लाइन बन्द गरिने जनाइएको छ।
प्रसारण लाइन बन्द हुने समयमा झापा, इलाम, पाँचथर र ताप्लेजुङका सम्पूर्ण क्षेत्रका साथै मोरङको उर्लाबारी र पथरी आसपासमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।
सबस्टेसनमा १३२/३३ केभीका ६३ एमभीए क्षमताका दुईवटा र ३३/११ केभीको २२.५ एमभीए क्षमताको एउटा पावर ट्रान्सफर्मर जडान गरिएको छ। यी उपकरणसहित सबस्टेसनको कुल क्षमता १४८.५ एमभीए रहेको छ।
हाल उक्त क्षेत्रमा दुहवी–रानी–रङ्गेली ३३ केभीको करिब ५० किलोमिटर लामो प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति हुँदै आएको थियो। केरौन सबस्टेसन सञ्चालनमा आएपछि विद्युत् आपूर्ति हुने लाइनको लम्बाइ घट्ने र त्यसबाट आपूर्ति प्रणालीमा सुधार आउने अपेक्षा गरिएको छ।
सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत् वितरणका लागि ११ केभीका पाँचवटा फिडर लाइन निकालिएका छन्। त्यस्तै, केरौन–रङ्गेली र केरौन–विराटचोक ३३ केभी डबल सर्किट प्रसारण लाइनसमेत निर्माण गरिएको छ।
आयोजना निर्माणका लागि २०७८ असारमा ठेक्का सम्झौता भएको थियो। करिब एक अर्ब रुपैयाँ अनुमानित लागत रहेको आयोजना नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानी तथा एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको हो।
केरौन सबस्टेसन सञ्चालनमा आएपछि मोरङ र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रणालीको क्षमता विस्तार हुनुका साथै आपूर्तिको विश्वसनीयता र गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ।