पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ८६ प्रतिशत सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ ।
आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)का प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले आगामी मंसिरभित्र काम सक्ने लक्ष्य लिइएको जानकारी दिए । ‘पश्चिम खण्डको काम पनि अन्तिम चरणमा पुगेको छ, झन्डै पाँच किमिजति सर्भिस लेन कालोपत्र गर्न बाँकी छ,’ उनले भने, ‘रोड मार्किङ, ट्राफिक संकेत चिह्न राख्नेदेखि सडक सुरक्षासँग सम्बन्धित काम धमाधम भइरहेको छ ।’
त्यस्तै, निर्माण कम्पनीले पूर्वी खण्ड (जामुने–मुग्लिन)को काम पूरा गरी सडक हस्तान्तरण गरिसकेको उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । ‘सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएर त्रुटि सच्याउने अवधि (डिएलपी) सुरु भइसकेको छ,’ उनले भने । डिएलपीपछि थप पाँच वर्षसम्म सडक मर्मत–सम्भारको जिम्मा पनि निर्माण कम्पनीकै हुने उनले बताए ।
इन्जिनियर पाण्डेका अनुसार कुल ४१.४५ किमि दूरीको उक्त खण्डमा दमौली र डुम्रे बजारमा करिब दुई किमि सडक ६ लेन र अन्यत्र चार लेनमा विस्तार तथा स्तरोन्नति गरिएको छ । पूर्वी खण्डमा साना–ठुला गरी १७ वटा पक्की पुल निर्माण भएका छन् ।
तनहुँको मादी नदीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इन्जिनियर पाण्डेले बताए । पाँच दशकअघि बनेको उक्त सडक विस्तार तथा स्तरोन्नतिको काम ०७८ वैशाखदेखि सुरु भएको थियो । निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाखमा पूर्वी खण्ड निर्माणको जिम्मा पाएको थियो ।
गण्डकी प्रदेशको ‘लाइफलाइन’का रूपमा रहेको उक्त सडक स्तरोन्नति भएसँगै संघीय राजधानी काठमाडौं, चितवनलगायत गन्तव्यबाट पोखरासम्मको यातायात सेवा सहज बनेको छ । निर्माणको चरणमा खेपेको धुलो र हिलोको सास्तीलाई बिर्सँदै सर्वसाधारणले चार लेनको फराकिलो सडकमा यात्रा गर्न पाएका छन् ।
अहिले पोखरा महानगरपालिका– १०, अमरसिंहचोकदेखि सेतीपुलसम्म, तालचोक र बुढीबजार क्षेत्रमा सर्भिस लेन कालोपत्रेका लागि तयारी भइरहेको इन्जिनियर कुँवरले बताए । निर्माणको काम सकिएपछि पश्चिम खण्डमा पनि एक वर्षसम्म त्रुटि सच्याउने अवधि (डिएलपी)को चरण रहने उनले बताए । कुल ३८.८८ किमि दूरीको पश्चिम खण्डमा १८.५ किमि दूरीमा ६ लेन र बाँकीमा चार लेनको सडक निर्माण गरिएको छ ।
यस खण्डमा पर्ने १३ पुलमध्ये १२ वटा पुल निर्माण भइसकेका छन् । पोखराको सेती नदीको ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको हो । तनहुँको जामुनेदेखि पर्यटकीय राजधानी पोखरा जोड्ने पश्चिम खण्डमा ०७८ जेठ २ गते सम्झौता भई ०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो ।
चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्डको ठेक्का पाएको थियो । कुल ८१ किमि दूरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम गरिएको हो ।
सरकारको प्राथमिकताप्राप्त यस सडक आयोजना निर्माणले सुरुमा गति लिन नसकेपछि पोखराका पर्यटन व्यवसायीलगायतले काममा ढिलासुस्ती नगर्न दबाब बढाएका थिए । गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिले यस क्षेत्रको आर्थिक र पर्यटकीय गतिविधि बढाउन टेवा पुगेको छ । पोखरा आउजाउ गर्दा धुलो र हिलो छिचोल्दै घण्टौँको यात्रा गर्नुपर्ने पर्यटक र सर्वसाधारणको बाध्यता पनि सधैँका लागि अन्त्य भएको छ ।