तराईबाट काठमाडौंसम्म एलपी ग्यास र हवाई इन्धनको ढुवानी र आपूर्ति व्यवस्थापनको निरीक्षण गर्न आयल निगमले दुईवटा कमिटी गरेको छ।
निगमको एलपिजी तथा एभिएसन विभाग प्रमुखसमेत रहेका निर्देशक विनीतमणि उपाध्यायका अनुसार ग्यास आपूर्ति सहजताका लागि उपनिर्देशक अभिषेक ठाकुरको संयोजकत्वमा उपेन्द्र सुवेदी, सुमन पुडासैनी र विकास बखती रहेको चार सदस्यीय समिति गठन गरिएको छ। त्यस्तै, हवाई इन्धन आपूर्ति सहजताका लागि उपनिर्देशक रामहरि निरौलाको संयोजकत्वमा अनुपम पराजुली र मधुमास पुन रहेको तीन सदस्यीय कमिटी गठन भएको छ।
‘साेमबार दिउँसो कमिटी गठन भएको हो,’ उपाध्यायले भने, ‘भोलि (मंगलबार) बिहानै तराई झरेर उहाँहरूले काम थाल्नुहुन्छ।’ एलपिजीसँग सम्बन्धित समितिलाई बारा, पर्सा, चितवन र नवलपरासीसम्मका उद्योगमा ग्यास रिफिलिङदेखि आयातको अवस्था र काठमाडौं पठाउने परिमाणको विवरण संकलन गर्न तथा स्थानीय प्रशासनसँगको समन्वयमा ग्यास वितरणका लागिसमेत सहजता प्रदान गर्ने कार्यादेश दिइएको छ।
त्यस्तै, हवाई इन्धनसँग सम्बन्धित समितिलाई निगमको अमलेखगन्ज डिपोमा रहेर आयात र वितरणको व्यवस्थापन हेर्ने जिम्मेवारी दिइएको छ। दुवै समितिले कृष्णभिरको पहिरो पन्छाएर पृथ्वी राजमार्ग सञ्चालनमा नआउन्जेलसम्म तराईमै बसेर काम गर्ने निर्देशक उपाध्यायले जानकारी दिए।
पृथ्वी राजमार्ग अवरोध भएकाले अहिले तराईका उद्योगमा ग्यास भरेर काठमाडौं ल्याउन थालिएको छ भने हेटौँडामार्फत वैकल्पिक मार्ग हुँदै हवाई इन्धन, पेट्रोल र डिजेलसमेत ढुवानी हुन थालेको छ।