बुटवल/ बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निजी क्षेत्र आर्थिक विकासको महत्वपूर्ण आधार भएको बताउँदै स्थानीय व्यापार व्यवसायको प्रवर्द्धन, रोजगारी सिर्जना र समग्र आर्थिक विकासमा निजी क्षेत्र तथा स्थानीय सरकारबिच सहकार्य आवश्यक रहेको बताएका छन् ।
रुपन्देही व्यापार संघले आयोजना गरेको २७औँ स्थापना दिवसमा उनले सो कुरा बताएका हुन् । स्थापना दिवसको अवसरमा संघका पूर्वअध्यक्षलाई सम्मान पनि गरिएको छ ।
कार्यक्रममा संघका अध्यक्ष प्रकाश ढकालले व्यवसायीको हकहित संरक्षण, व्यापार प्रवर्द्धन र संस्थागत सुदृढीकरणका लागि संघ प्रतिबद्ध भएर अघि बढ्ने बताए ।
संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले स्थापनाको प्रारम्भिक अवस्था स्मरण गर्दै संस्थालाई यहाँसम्म ल्याउन अग्रज व्यवसायीले गरेको योगदान महत्वपूर्ण रहेको बताउँदै संस्थाको इतिहास र गौरवलाई कायम राख्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।