मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १५ सोमबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ १५ सोमबार १८:५५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

त्रिभुवन राजपथ एकतर्फी बनाएर काठमाडौं ल्याइँदै पेट्रोलियम पदार्थ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ १५ सोमबार १८:५५:oo

कृष्णभिरमा पहिरो गएर मुग्लिन–धादिङ हुँदै काठमाडौं आउने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथ (मकवानपुरको पालुङ–टिस्टुङ–नौबिसे–नागढुंगा) एकतर्फी गरेर काठमाडौंमा पेट्रोलियम पदार्थ ल्याउन थालिएको छ।

सोमबार दिउँसो ३ः३० बजे हेटौँडाबाट पेट्रोल, डिजेल, हवाई इन्धन बोकेका ६२ ट्यांकर त्रिभुवन राजपथ हुँदै काठमाडौं पठाइएको आयल निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जका प्रमुख अशोक साहले जानकारी दिए।

‘त्रिभुवन राजपथ एकतर्फी बनाएर काठमाडौंमा पेट्रोल, डिजेल र हवाई इन्धन पठाइएको छ,’ उनले भने, ‘ठाउँ-ठाउँमा प्रहरी स्कर्टिङ पनि हुनेछ।’ उक्त सडक साँघुरो भएकाले दुईतर्फी बनाउँदा जाम हुने तथा पेट्रोलियम पदार्थको ढुवानीमा जोखिम हुने भएकाले एकतर्फी रूपमा पेट्रोलियम पदार्थ ल्याइएको हो। सोही बाटोबाट काठमाडौंका लागि ग्यास सिलिन्डर लिएर ट्रकसमेत आएका छन्।

आयल निगमको हवाई इन्धन कार्यालय, सिनामंगलका प्रमुख प्रदीप यादवका अनुसार ६२ मध्ये २५ ट्यांकर हवाई इन्धन लिएर आउँदै छन्। ‘सबै ट्यांकर बिहानसम्म काठमाडौं आइपुग्नेछन्,’ उनले भने। सिनामंगल डिपोमा ४७ लाख लिटर हवाई इन्धन मौज्दातसमेत रहेको उनले जानकारी दिए। उक्त परिमाणले कम्तीमा १२ दिनको माग धान्न सक्नेछ।

हेटौँडाको साहारा ग्यास उद्योगमा काठमाडौंका लागि एभरेस्ट र सुगम ग्यासको सिलिन्डर रिफिल गरेरसमेत पठाइको उद्योगी शिवप्रसाद घिमिरेले जानकारी दिए। ‘काठमाडौंका उपभोक्ताले प्रयोग गरिरहेको एभरेस्ट र सुगमका सिलिन्डरमा हेटौंडास्थित मेरै अर्को उद्योगमा ग्यास भरेर सोमबार दिउँसो काठमाडौं पठाइसकिएको छ,’ घिमिरेले भने, ‘धादिङको बाटो क्लियर नहुन्जेलसम्म हेटौँडामै ग्यास भरेर काठमाडौं पठाउने विकल्प प्रयोग हुनेछ।’

सुगमको धादिङ र एभरेस्टको चाल्नाखेलमा उद्योग छ। तर, कृष्णभिरमा आएको पहिरोका कारण उद्योगसम्म बुलेट आउन नसकेपछि हेटौँडा डाइभर्ट गरिएको हो।