१४ अर्ब पुग्यो अन्तर्राष्ट्रिय संस्थामा नेपालको सेयर लगानी

गत आवमा एक अर्ब ६३ करोड थप भएपछि कुल लगानी पुग्यो १३ अर्ब ९१ करोड

शुक्रबार, २७ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं- अन्तर्राष्ट्रिय संस्थाहरूमा नेपाल सरकारको सेयर लगानी झन्डै १४ अर्ब रुपैयाँबराबर पुगेको छ । आर्थिक वर्ष ०८२/८३ सम्ममा विभिन्न सात अन्तर्राष्ट्रिय संस्थामा नेपालको कुल सेयर लगानी १३ अर्ब ९१ करोड ६ लाख ७१ हजार रुपैयाँबराबर पुगेको हो ।

सरकारले विभिन्न संघ–संस्था स्थापना हुँदाका बखद सेयर लगानी गर्ने गरेको छ । त्यस्तै, संस्थाहरूको निर्णय एवं संस्थासँगको सम्झौताअनुसार थप लगानीसमेत गर्दै आएको छ । पछिल्लो वर्ष ०८२/८३ मा मात्रै सरकारले एक अर्ब ६३ करोड ३१ लाख थप लगानी गरेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले अन्तर्राष्ट्रिय मुद्राकोषमा ९१ करोड ३९ लाख ७२ हजार र अन्तर्राष्ट्रिय वित्त निगमममा ३२ करोड २२ लाख ६३ हजार र अन्तर्राष्ट्रिय पुनर्निर्माण कोषमा ३९ करोड ६९ लाख नौ हजार रुपैयाँबराबर थप लगानी गरेको हो ।

अन्तर्राष्ट्रिय संस्थामध्ये नेपालको सेयर लगानी सबैभन्दा बढी अन्तर्राष्ट्रिय मुद्राकोषमा सात अर्ब ५० करोड १५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, सार्क विकास कोषमा दुई अर्ब ६८ करोड ८३ लाख रुपैयाँ र एसियाली पूर्वाधार लगानी बैंकमा एक अर्ब ९२ करोड ६१ लाख रुपैयाँबराबर सेयर लगानी रहेको छ ।

चार खर्ब नाघ्यो कुल सेयर लगानी
नेपाल सरकारले सार्वजनिक संस्थान तथा निकाय र विदेशी संस्थामा समेत गरी कुल सेयर लगानी चार खर्ब नाघेको छ । आर्थिक वर्ष ०८२/८३ सम्म सरकारले एक सय १६ संस्थानमा सेयर चार खर्ब १३ अर्ब ८८ करोड सेयर लगानी गरेको छ । जसमध्ये संस्थापक सेयरतर्फ तीन खर्ब ९० अर्ब १८ करोड, प्राथमिकतामा प्रप्त सेयरतर्फ नौ अर्ब ७९ करोड र अन्तर्राष्ट्रिय संस्थामा १३ अर्ब ९१ करोड सेयर लगानी भएको छ । आव ०८२/८३ सम्म कुल सेयर लगानीमध्ये संस्थापक सेयर ९४.३ प्रतिशत, प्राथमिकता प्राप्त सेयर २.४ प्रतिशत र अन्तर्राष्ट्रिय संस्थामा सेयर ३.४ प्रतिशत रहेको छ । 

सुझावित समाचार