संकटमा टेलिकम व्यवसाय, आम्दानी र नाफामा गिरावट

शुक्रबार, २७ कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • ओटिटी एप्सको व्यापक प्रयोग, असन्तुलित प्रतिस्पर्धा र उच्च एवं असमान करका कारण टेलिकम कम्पनी समस्यामा, आय ९ प्रतिशत र नाफा २४ प्रतिशतसम्मले घट्यो

काठमाडाैं- नेपालमा दूरसञ्चार (टेलिकम) सेवाप्रदायक कम्पनीहरूको आम्दानी र नाफा निरन्तर ओरालो लागिरहेको छ । पछिल्ला केही वर्षदेखि सरकारी र निजी लगानीको टेलिकम कम्पनी दुवैको आय र नाफामा संकुचन देखिएको हो । कम्पनीका वार्षिक आय विवरणले एकै आर्थिक वर्षमा कुल आय ९ प्रतिशत र नाफा २४ प्रतिशतसम्मले घटेको देखिन्छ ।

नेपालमा कुनै समय ६ वटासम्म टेलिकम कम्पनी अस्तित्वमा थिए । पछिल्लो समय स्मार्ट टेलिकम र युटिएलसमेत बन्द भएपछि अहिले सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी लगाानीका एनसेल गरी दुईवटामा सीमित छन् । ओभर द टप (ओटिटी) एप्सको व्यापक प्रयोग, असन्तुलित प्रतिस्पर्धा र उच्च करका कारण टेलिकम कम्पनीको व्यवसाय खस्किएको जानकारहरू बताउँछन् । यही कारण चार टेलिकम कम्पनी प्रतिस्पर्धा गर्न नसकेर बन्द हुन पुगेको तथा सञ्चालनमा रहेका दुई कम्पनीको व्यवसायसमेत संकटमा पुगेको सरोकारवालाको भनाइ छ ।

सन् २०१६ देखि २०२३ को बिचमा मोबाइल सेवाको आम्दानी २५ प्रतिशतले घटेको एनसेलले आफ्नो ‘टेलिकम रिसिलियन्स एन्ड सस्टेनिबिलिटी’ रिपोर्टमा उल्लेख गरेको छ । जबकि, छिमेकी देशहरूले निकै राम्रो वृद्धि हासिल गरेका छन् । सो अवधिमा भारतको दूरसञ्चार क्षेत्र ११२ प्रतिशत, बंगलादेशको ४३ प्रतिशत र श्रीलंकाको ३८ प्रतिशतले वृद्धि भएको रिपोर्टमा उल्लेख छ ।

सरकारी लगानीको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटिसी)को आम्दानी आर्थिक वर्ष ०७४/७५ देखि निरन्तर ओरालो लागेको छ । सो वर्ष ४५ अर्ब २७ करोड कमाएको कम्पनीको आम्दानी आर्थिक वर्ष ०८१/८२ सम्म आइपुग्दा ३८ अर्ब १९ करोडमा सीमित भएको छ । आव ०७४/७५ मा १७ अर्ब ४८ करोड रहेको कम्पनीको खुद नाफासमेत घटेर आव ०८१/८२ मा ६ अर्बमा खुम्चिएको छ । आर्थिक वर्ष ०८१/८२ मा एनटिसीको कुल आय अघिल्लो वर्षको तुलनामा ९.३८ प्रतिशतले घट्दा नाफामा २४.४३ प्रतिशतले कमी आएको देखिन्छ ।

निजी क्षेत्रको कम्पनी एनसेल लिमिटेडको अवस्था पनि उस्तै छ । सन् २०१७ मा ५८ अर्ब कमाएको कम्पनीले २०१८ मा साढे ५७ अर्ब र २०१९ मा ५४ अर्ब मात्र आर्जन गर्न सक्यो । सन् २०२५ मा आइपुग्दा एनसेलको आम्दानी ३३ अर्बमा सीमित भएको कम्पनीको वित्तीय विवरणले देखाएको छ । कम्पनीको नाफासमेत घट्दो छ । सन् २०१७ मा १८ अर्ब ९० करोड नाफा कमाएको एनसेलले सन् २०२२ मा नौ अर्ब १५ करोड नाफा कमाएको छ ।

भ्वाइस कलको आम्दानीमा ओटिटीको प्रभाव
विगतमा टेलिकम कम्पनीहरूको मुख्य आयस्रोतका रूपमा भ्वाइस कलबाट हुने आम्दानी पछिल्ला वर्षहरूमा घट्दै आएको छ । सन् २०१९ मा एनसेलले कुल आम्दानीको ४४ प्रतिशत भ्वाइस कलबाट कमाएको थियो । सन् २०२५ सम्म आइपुग्दा यो घटेर ३८ प्रतिशतमा सीमित भएको छ । अन्तर्राष्ट्रिय आगमन कलबाट हुने आम्दानीसमेत सोहीअनुसार घट्दो क्रममा छ । सन् २०१९ मा एनसेलले कुल आम्दानीको २१ प्रतिशत अन्तर्राष्ट्रिय कलबाट कमाएको थियो । तर, त्यसपछि निरन्तर ओरालो लाग्दै सन् २०२५ मा आइपुग्दा ११ प्रतिशतमा झरेको एनसेलले जनाएको छ । अर्थात्, सन् २०१९ मा ११ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी अन्तर्राष्ट्रिय कलबाट कमाएको एनसेलले सन् २०२५ मा तीन अर्ब ६३ करोड मात्र कमायो । यता एनटिसीको पनि भ्वाइस कलबाट हुने आय घटिरहेको छ । कम्पनीले आव ०७६/७७ मा कुल आम्दानीको ५८ प्रतिशत भ्वाइस कलबाट कमाएकोमा आव ०८१/८२ मा ४७ प्रतिशतमा सीमित भएको छ ।

दूरसञ्चार कम्पनीको भ्वाइस कलको आम्दानी घट्नुको मुख्य कारण ओभर द टप (ओटिटी) एप्स नै रहेको एनसेलका प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत डिल्लीराम श्रेष्ठ बताउँछन् । उनले भने, ‘विगत सात–आठ वर्षको तथ्यांक हेर्ने हो भने उल्लेख्य रूपमा राजस्व घटिरहेको छ । यसको एक प्रमुख कारण भनेकै फेसबुक, ह्वाट्सएप, भाइबरलगायतका ओटिटी प्लाटफर्म हुन् । नेपालमा लगभग ७० प्रतिशतजति सञ्चार ओटिटीमार्फत हुने गरेको छ ।’

नेपालको दूरसञ्चार पूर्वाधार प्रयोग गरेर अर्बौँ रुपैयाँको व्यवसाय गरिरहेका अधिकांश ओटिटी एप्सका कारण टेलिकम कम्पनीले ठुलो चुनौतीको सामना गरिरहेका छन् । दूरसञ्चार कम्पनी नेटवर्क पाइप बन्ने, तर त्यसमार्फत बग्ने डेटाबाट विदेशी ओटिटी कम्पनीले फाइदा उठाउने अवस्था सिर्जना भएको छ । ओटिटीका कारण टेलिकम कम्पनीले मात्र नभई राज्यले समेत अर्बौँ राजस्व गुमाइरहेको श्रेष्ठ बताउँछन् । 

उच्च कर र असन्तुलित प्रतिस्पर्धा
टेलिकम कम्पनीहरूको घाटाको अर्को कारण आइएसपीहरूको असन्तुलित प्रतिस्पर्धा र सरकारको असमान कर नीति रहेको सेवाप्रदायकको दाबी छ । असमान कर नीतिले अस्वस्थ प्रतिस्पर्धा बढेको एनटिसीका प्रवक्ता डा. कमल लामिछानेको आरोप छ । ‘अर्बौँ रुपैयाँ फ्रिक्वेन्सी तथा लाइसेन्स शुल्क बुझाउने टेलिकम कम्पनीको दाँजोमा आइएसपीहरूले तिर्ने दायित्व नगण्यप्रायः छ,’ उनले भने, ‘समान प्रकृतिको सेवा प्रवाह हुँदा पनि यिनीहरूले तिर्ने शुल्क भने असमान छ । त्यसमाथि आइएसपीहरूले निःशुल्क वाइफाई हटस्पट विस्तार गर्दासमेत मोबाइल अपरेटर नै प्रत्यक्ष मारमा परेका छन् ।’

टेलिकम कम्पनीहरूले दूरसञ्चार सेवा शुल्क १० प्रतिशत, स्वामित्व शुल्क २ प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत गरी कुल २६.५६ प्रतिशतका कर र्तिछन् । साथै, आरटिडिएफ २ प्रतिशत, रोयल्टी ४ प्रतिशत र संस्थागत आयकर ३० प्रतिशत बुझाउँछन् । 

तर, नेपालमा आम्दानी र नाफा घटिरहँदा करको दायित्व भने बढ्दै गएकाले कर र शुल्क पुनरवलोकन गर्नुपर्ने एनसेलका प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत श्रेष्ठको धारणा छ । 

सुझावित समाचार