एक हप्ताअघि रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितको खोज, उद्धार तथा राहतका लागि रामेछापको गोकुलगंगा गाउँपालिकाले २२ लाख ६ हजार ५७० रुपैयाँ रकम सहयोग गर्ने र उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
उक्त गाउँपालिकाको भदौ १४ गते बसेको कार्यपालिकाको बैठकले रसुवाका बाढीपीडितकोा लागि सो रकम आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। जसमा गाउँपालिकाको विपत् कोषबाट एक लाख, जनप्रतिनिधिहरूको मासिक पारिश्रमिकबाट ३९ हजार ३५० रुपैयाँ, पालिकामा कार्यरत अधिकृतस्तरका कर्मचारीहरूबाट पाँच लाख ६० हजार १५० रुपैयाँ रकम संकलन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी सहायकस्तरका कर्मचारीबाट १३ लाख ७५ हजार २९० रुपैयाँ र श्रेणीविहीन कर्मचारीहरूबाट एक लाख ३१ हजार ७८० रुपैयाँ गरी कुल २२ लाख ६ हजार ५७० रुपैयाँ एकमुस्ट जम्मा गरी राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले जानकारी दिए ।
त्यस्तै सो घटनामा परी सम्पर्कविहीन भएका आफ्नो पालिकाभित्रका नागरिकको खोज तथा उद्धारमा सहयोगगार्थ पीडित परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णयसमेत गरेको छ। रसुवाको बाढी पहिरोमा परी गोकुलगंगा गाउँपालिकाका ईश्वरबहादुर खड्का, लिलबहादुर विक, सुरज श्रेष्ठ र सम्राट शेर्पा गरी चारजना हालसम्म सम्पर्कविहीन रहेका छन् ।
हालसम्म सम्पर्कविहीन रहेका चारजना रोजगारीको सिलसिलामा रसुवास्थित टिमुरे क्षेत्रमा रहँदै आएका थिए । उनीहरूको खोजीका लागि परिवारका सदस्यहरूले प्रहरीमा खबर गरेका छन् भने सदस्यहरू पनि खोजीमा तैनाथ छन् ।