मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १६ मंगलबार
  • Tuesday, 01 September, 2026
२o८३ भदौ १६ मंगलबार o६:२o:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

केरुङबाट ४० जनालाई स्वदेश फर्काउन पहल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ भदौ १६ मंगलबार o६:२o:oo

बाढीका कारण केरुङमा रोकिएका र स्वदेश फर्कन चाहने नेपालीलाई वैकल्पिक नाकाबाट स्वदेश फर्काउने पहल सुरु भएको छ । केरुङमा रहेका नेपालीमध्ये तत्काल ४० जनालाई तातोपानी नाकाबाट नेपाल ल्याउने तयारी ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले अघि बढाइएको हो ।

नेपाल र चीनतर्फका अध्यागमन कार्यालय बन्द भएपछि उनीहरूलाई अर्को नाकाबाट स्वदेश फर्काउन महावाणिज्य दूतावासले तिब्बत सरकारको परराष्ट्र मामिला विभागमार्फत चिनियाँ सरकारसँग पहल गरेको हो । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले सोमबार ल्हासामा विदेश मामिला विभागका महानिर्देशक वाओ तिङलगायत अधिकारीहरूसँग छलफल गरेका थिए । उनका अनुसार नेपालको प्रस्तावमा चिनियाँ अधिकारीले सकारात्मक जवाफ दिएका छन् ।

निरौलाका अनुसार केरुङमा काम गर्दै आएका तथा व्यापारिक प्रयोजनले बसेका करिब चार सय नेपाली रहेको अनुमान छ । तीमध्ये केरुङमा रहेका रसुवाका ४० जनालाई तातोपानी नाकाबाट नेपाल पठाउन पहल थालिएको छ । ‘केरुङमा करिब चार सयजति नेपाली रहनुभएको अनुमान छ, वास्तविक तथ्यांक प्राप्त गर्ने क्रममा छु,’ ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले नयाँ पत्रिकासँग भने, ‘तर, बाढीका कारण अड्केका कोही पनि छैनन् । त्यहीँ विभिन्न प्रयोजनले बसेका सीमापासवाहक नेपाली छन् ।’

१९८१ मा नेपाल–चीन सरकारबिच भएको सम्झौतामा सीमाक्षेत्रका बासिन्दालाई कुनै औपचारिक प्रतिबन्धविना सीमाको ३० किलोमिटर क्षेत्रभित्र परम्परागत हाटबजार तथा व्यापार प्रयोजनका लागि आवतजावत गर्न दिने व्यवस्था छ । सोही सम्झौताका आधारमा सन् २००२ मा सीमावर्ती जिल्लाका बासिन्दालाई राहदानी वा भिसाजस्ता अन्य कागजातविना नै एक–अर्को देशको सीमावर्ती जिल्लामा जान सीमापास जारी गर्ने व्यवस्था भएको थियो । 

सम्झौतामा एक–अर्को देशमा ३० किलोमिटरसम्म आवतजावत गर्न दिने प्रावधान रहे पनि केरुङमा रहेका पासवाहक नेपाली तातोपानी नाकाबाट फर्किँदा ३० किलोमिटरभन्दा बढी चिनियाँ भूभाग भएर जानुपर्छ । सीमापासको परिधिबाहिर भएका कारण अन्य नाकाबाट नेपाल फर्किन चीनको केन्द्र सरकारले अनुमति दिनुपर्छ । यसैका लागि महावाणिज्य दूतावासले कूटनीतिक पहल थालेको हो । 

प्रक्रियाअनुसार सुरुमा केरुङ प्रहरीले नेपाल आउन चाहनेको सूचि बनाउनेछ । त्यसैअनुसार नेपाल आउन चाहनेहरूलाई स्वदेश फर्काउन पहल हुने महावाणिज्यदूत निरौलाले बताए । 

अघिल्लोपटक रसुवाको बाढी आएका वेला अलपत्र रहेका नेपाली पनि बेइजिङको अनुमतिका आधारमा तातोपानी नाकाबाट नेपाल फर्केका थिए । 

मानसरोवर गएका दुई हजार सकुशल फर्किए, १२ सय अझै यात्रामा 
भदौ १० को विनाशकारी बाढीभन्दा अघि (९ भदौसम्म केरुङबाट कैलाश मानसरोवरतर्फ गएका) करिब दुई हजार यात्रु (नेपालीसहित) तातोपानी नाकाबाट फर्केका छन् । नेपाली ट्राभल एजेन्सीहरूको नेतृत्वमा गएका करिब १२ सयजति नेपाली, भारतीय र तेस्रो मुलुकका तीर्थयात्रीहरू अहिले कैलाश मानसरोवर यात्राका छन् । उनीहरूलाई पनि तातोपानी वा हिल्सा नाका हुँदै नेपाल फर्काउन चीनले सहमति दिएको छ । ल्हासा पुगेर उडानमार्फत नेपाल आउन चाहनेहरूलाई पनि सहजीकरण गरिदिने चीन सरकारले वचनबद्धता जनाएको छ । अबको तीन दिनमा अधिकांश यात्री फर्किसक्नेछन् । भदौ १० पछि नेपालबाट अरू नाका हुँदै तीर्थयात्री तिब्बत गएका छैनन् । 

केरुङबाट १७६ कन्टेनर कोरला नाका पठाइँदै 
नेपाल ल्याउने सामान बोकेका तथा केरुङमा रहेका करिब १७६ कन्टेनरलाई मुस्ताङस्थित कोरला नाकाबाट पठाउने प्रयास भएको छ । ‘त्यहाँ लोड हुन बाँकी र लोड भइसकेका गरी जम्मा १७६ कन्टेनरलाई हामी कोरला नाकाबाट पठाउँदै छौँ,’ महावाणिज्यदूत निरौलाले भने । अहिले तातोपानी नाकाबाट आयात–निर्यात बन्द भएको छ । उक्त क्षेत्रमा पानी परिरहेको जानकारी तिब्बती अधिकारीले महावाणिज्य दूतावास कार्यालयलाई दिएका छन् ।