आइतबार रातिसम्म बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका आठ सयभन्दा बढी शव भेटिए पनि अधिकांशको सनाखत हुन सकेको छैन । पहिचान खुल्न नसकेका शवको संख्या बढ्दै जाँदा खोज तथा उद्धारसँगै शव व्यवस्थापन सरकारका लागि थप चुनौतीपूर्ण बनेको छ । शवको सनाखतमा सघाउन भारतीय फरेन्सिक टोली पनि आइतबार नेपाल आएको छ।
तथ्यांकअनुसार हालसम्म भेटिएका शवमध्ये चार प्रतिशत पनि सनाखत हुन सकेको छैन । ‘आइतबार बेलुकासम्म ८२३ शव भेटिएका छन् र त्यसमा ३२ जनाको मात्र सनाखत भएको छ,’ प्रहरी प्रवक्ता अविनारायण काफ्लेले भने, ‘धेरै शव क्षतविक्षत भएकाले पनि सनाखतमा समस्या भएकोजस्तो देखिन्छ । हामीले सबै शवको फोटो वेबसाइटमा राखेका छौँ र हेल्प डेस्कमार्फत पनि सहजीकरण गरिरहेका छौँ ।’
सनाखतमा ढिलाइ भएर शवहरू राख्न ठाउँ नभएपछि सरकारले ‘एयरटाइट’ प्लास्टिक झोलामा प्याक गरेर माटोमुनि राख्न थालेको छ । शवको डिएनए र औँठाछाप लिएर पछि सनाखत भएको अवस्थामा परिवारलाई दिने गरी यसरी गाड्न थालिएको छ । जुन शैलीप्रति कतिपयले भने आलोचना गरिरहेका छन् ।
प्रहरी प्रवक्ता अविनारायण काफ्ले भन्छन्–आइतबार बेलुकासम्म ८२३ शव भेटिएका छन् र त्यसमा ३२ जनाको मात्र सनाखत भएको छ । धेरै शव क्षतविक्षत भएकाले पनि सनाखतमा समस्या भएकोजस्तो देखिन्छ । हामीले सबै शवको फोटो वेबसाइटमा राखेका छौँ र हेल्प डेस्कमार्फत पनि सहजीकरण गरिरहेका छौँ ।
गृह मन्त्रालयका अधिकारी भने अस्थायी व्यवस्थापनको विकल्प नभएको बताउँछन् । शव राख्ने ठाउँ न्यून भएको र त्यसका लागि तत्काल ठुला रेफ्रिजेनेटर व्यवस्थापन हुन नसक्ने अवस्था भएकाले जमिनमुनि राख्न थालिएको उनीहरूको भनाइ छ । आइतबारसम्म २२८ शव जमिनमुनि गाडिएको छ ।
बेत्रावतीमा बल्ल पुग्यो प्रहरी टोली
बाढीले ठुलो क्षति पुर्याएको नुवाकोट र रसुवाको सीमाक्षेत्र बेत्रावतीमा खोज तथा उद्धारका लागि बल्ल प्रहरी टोली खटिएको छ । आइतबार एसएसपीको कमान्डमा प्रहरी टोली बेत्रावतीमा खटिएको छ । शवको मुचुल्का गर्नेदेखि फरेन्सिकसहितको टोली खटिएको अधिकारीहरूले जनाएका छन् ।
बेत्रावती बजारमा बाढीले सयौँ घर बगाएको छ । शवका कारण सो क्षेत्रमा दुर्गन्ध फैलिन थालिसकेको स्थानीयले बताएका छन् । घरमै भएको अवस्थामा कतिपयलाई बगाएको थियो । त्यस्तै, सो क्षेत्रबाट धेरै सार्वजनिक सवारी पनि यात्रुसहित बाढीले बगाएको छ । त्यस्तै, रसुवामा पनि प्रहरीको फरेन्सिकसहितको टोली आइतबारदेखि खटिएको प्रहरी प्रवक्ता डिआइजी आफ्लेले बताए ।
बाढीपीडित क्षेत्रमा अपराधका घटना
बाढीपीडित क्षेत्रमा चोरीका घटना बढ्न थालेका छन् । बाढीले क्षतिग्रस्त घरमा अनधिकृत मान्छे प्रवेश गर्नेदेखि कतिपयको लुटपाटसमेत भएको उजुरी प्रहरीमा परेका छन् । बट्टार बजारमा एक वृद्धाको कानको मुन्द्रा लुछिएको छ । सुरक्षाकर्मी उद्धार र राहतमा केन्द्रित हुँदा चोरीका घटना बढ्न थालेका हुन् ।