पृथ्वी राजमार्गको कृष्णभिर खण्ड सञ्चालन गर्न ‘ग्याबियन ब्रेस्ट वाल’ बनाइने भएको छ । पूर्वाधार विकास मन्त्रालयको मंगलबार साँझ बसेको बैठकले कृष्णभिरमा यातायात सञ्चालन गर्न ग्याबियन ब्रेस्ट वाल बनाउने निर्णय गरेको हो । सोअनुसार हाल पहिरोले भासिएको ठाउँमै अस्थायी रूपमा ग्याबियन ब्रेस्ट वाल बनाएर यातायात सेवा सञ्चालन गरिनेछ ।
‘तत्काल विपत्को सामना गर्न तथा विपत् प्रभावित क्षेत्र र राजधानीसँगको आपूर्ति शृंखला पुनर्स्थापना गर्न कृष्णभिरको हिलसाइडमा ग्याबियन ब्रेस्ट वालमाथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको कार्य तत्काल अघि बढाउने,’ बैठकपछि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यस्तै, ट्र्याक खोल्ने कार्यसँगै ‘सेक्रिफिसियल ग्याबियन बक्स’ तथा ‘बोल्डर हिलसाइड’बाट तल खसाल्ने कार्यसमेत गर्ने मन्त्रालयको निर्णय छ ।
कृष्णभिरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल नेलिङ, सिट पाइललगायतका विकल्पबारे सडक विभागले आवश्यक अध्ययन गर्ने निर्णय गरेको छ । यस्तै, चालू आवको अन्त्यसम्म वैकल्पिक सडकको व्यवस्था गर्ने निर्णय पनि गरिएको छ । ‘कृष्णभिरको विकल्पमा टनेल वा बाइपास सडक निर्माणका सम्भावित विकल्पहरूको तत्काल अध्ययन गरी चालू आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने,’ निर्णयमा भनिएको छ । यस्ता कामका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने तथा आवश्यकताअनुसार सडक विभागसँग समझदारीपत्र (एमओयू) गर्ने निर्णय पनि भएको छ ।
बाढीले ३१ पुल बगायो, तीन ठाउँमा बेलिब्रिज जडान गरिँदै
१० भदौको बाढीले भोटकोशी र त्रिशूली नदीमा रहेका ३१ वटा मोटरेबल पुल बगेका छन् । त्यससमा तत्काल देवीघाट, त्रिशूली बजार र बटारमा बेलिब्रिज राख्ने प्रक्रिया अघि बढेको सडक विभागले जनाएको छ । यसैगरी, थप २० ठाउँमा बेलिब्रिज राख्ने गरी अध्ययन अघि बढेको सडक विभागका महानिर्देशक डा. विजय जैसीले बताए । हाल ११ पुल स्टकमा भएको बताउँदै उनले भारतीय सहयोगमा थप बेलिब्रिज आउन लागेको बताए । यसैगरी, चीनसँग पनि बेलिब्रिज माग गरिने उनले बताए ।
५६ किमि विदुर–रसुवागढी सडकको ७१ प्रतिशत ध्वस्त
बाढीले ८२ किमि लामो गल्छी–रसुवा सडकको ५६ किमि लामो विदुर–रसुवागढी खण्डको ७१ प्रतिशत सडक ध्वस्त भएको छ । विदुरदेखि रसुवागढीसम्म सडकको लम्बाइ ५६ किमि छ । त्यसमा ४० किमि सडक पूर्ण रूपमा ध्वस्त भएको विभागका महानिर्देशक डा. जैसीले बताए ।
सवा तीन करोड विनियोजन
बाढीले ठुलो क्षति भएपछि सडक बोर्डले आकस्मिकबापत तीन करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ । तर, यो रकम अल्पकालीन व्यवस्था र पुनर्निर्माणमा पुग्दैन । त्यो अवस्था चालू आवकै नियमित बजेट विनियोजनबाट खर्च गर्ने गरी निर्णय भएको विभागको महानिर्देशक जैसीले बताए । बाढीले सडकतर्फ ३० अर्ब खर्च गरेको छ । पुनर्निर्माणमा भने ५० अर्ब लाग्ने अनुमान छ ।