रसुवाको भोटेकोशीमा बाढी आएको एक हप्ता पुगेको छ । १० भदौको भोटेकोशी बाढीले जनधनसहित अर्बौँको भौतिक क्षति पुर्याएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार राति आठ बजेसम्म मृत्यु हुनेको संख्या एक हजार ९३ पुगेको छ । यो विपत्मा सुरुकै दिनदेखि निजी संघ–संस्थाले सहयोगी हात बढाएका छन् ।
एनएमबिद्वारा ३.५१ करोड सहयोग
एनएमबि बैंक लिमिटेडले तीन करोड ५१ लाख सहयोग गरेको छ । बैंकले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने गरी सो रकमबराबरको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो । साथै, बैंकले उक्त प्रभावित क्षेत्रका नगरिकका लागि १० लाखबराबरको राहत सामग्रीसमेत प्रदान गरेको जनाइएको छ ।
एभरेस्ट बैंकका तर्फबाट तीन करोड ११ लाख
एभरेस्ट बैंक लिमिटेडले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले नगद र अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुई करोड ५१ लाख रुपैँया र आफ्ना कर्मचारीका तर्फबाट ६० लाख ५४ हजार ६ सय पाँच गरी तीन करोड ११ लाख ५४ हजार ६ सय पाँच रुपैयाँ सहयोग गरेको हो । उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ ।
कार्की नेतृत्वका जलविद्युत् आयोजनामार्फत १.६५ करोड
जलविद्युत् व्यवसायी मोहनविक्रम कार्कीको नेतृत्वमा रहेका विभिन्न जलविद्युत् कम्पनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा कुल एक करोड ६५ लाख आर्थिक सहयोग गरेका छन् । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रदान गरिएको उक्त सहयोगको चेक मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।
सहयोग रकममध्ये २५ लाख कार्कीले व्यक्तिगत रूपमा सहयोग गरेका हुन् । त्यसबाहेक कालिका इनर्जीले २५ लाख, माथिल्लो मेवा खोला ‘ए’ जलविद्युत् आयोजनाले २५ लाख, म्याग्दी खोला आयोजनाले २५ लाख र भोटेकोशी–१ आयोजनाले २५ लाख सहयोग गरेका हुन् । साथै, काबेली–३ क्यास्केडले १० लाख, सुपर काबेली खोला आयोजनाले १० लाख, सुपर काबेली खोला ‘ए’ले १० लाख र चेपे खोला साना जलविद्युत् आयोजनाले १० लाख सहयोग गरेका हुन् ।
नेसनल लाइफको १.५१ करोड सहयोग
नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । १० भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट धनजनको क्षति भएको थियो । बाढीबाट प्रभावित क्षेत्रमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरेको जनाएको छ । कम्पनीकी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले संयुक्त रूपमा सो रकमबराबरको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
सिटिजन लाइफका तर्फबाट डेढ करोड
बाढीपीडितलाई सहयोग गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी पनि जोडिएको छ । कम्पनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड ५१ लाख आर्थिक सहयोग गरेको हो । यो सहयोग रकममा सिटिजन लाइफका सिटिजन लिडर्सका तर्फबाट १८ लाख ६७ हजार, कर्मचारीका तर्फबाट २१ लाख ३३ हजार योगदान रहेको बताइएको छ । उक्त सहयोग रकम कम्पनीका अध्यक्ष प्रदीपजङ पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव दीपबहादुर बिसीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
राहत कोषमा सिटी एक्सप्रेस ग्रुपद्वारा एक करोड ११ लाख
सिटी एक्सप्रेस ग्रुपले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड ११ लाख रकम जम्मा गरेको छ । प्राकृतिक विपत्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति र नागरिकको दैनिक जीवन प्रभावित क्षेत्र र समुदायको सहयोगका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत कोषमा रकम जम्मा गरिएको कम्पनीले बताएको हो ।
हिमालयन बुलियनको एक करोड एक लाख सहयोग
बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा खोज, उद्धार तथा राहतका लागि हिमालयन बुलियन कम्पनी लिमिटेडले एक करोड एक लाख रुपैयाँको सहयोग गरेको छ । पहिले २१ लाख सहयोग गरेको कम्पनीले पछि थप ८० लाख सहयोग गरेको हो । कम्पनीका प्रतिनिधिहरू राकेशकुमार अडुकिया, रोहन अडुकिया, भीष्मप्रसाद गौतम, जीवन घिमिरे र राजेन्द्र न्यौपानेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
ज्योति विकासको एक करोड
ज्योति विकास बैंकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख रकम सहयोग गरेको छ । यस्तै, बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङ जिल्लाका समाजिक, शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रमा पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि चरणबद्ध रूपमा थप ५० लाखसम्मको सहयोग उपलब्ध गराउने निर्णय गरेको बैंकले जनाएको छ ।
बुटवल पावरमार्फत ५१ लाख
बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) र यससँग आबद्ध ग्रुप कम्पनी तथा बिपिसी कर्मचारीका तर्फबाट ५१ लाख ४१ हजार नौ सय ८६ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिएको छ । १० भदौको भोटेकोशी बाढीपछि सरकारले गरिरहेको खोज, उद्धार तथा राहतको प्रयासमा ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त रकमको चेक इप्पानमार्फत मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।
यस सामूहिक सहयोगमा बिपिसी र यसका कर्मचारीका तर्फबाट ३३ लाख ३६ हजार नौ सय ८६ रुपैयाँ संकलन गरिएको छ, जसमा कम्पनीको २२ लाख र व्यवस्थापन तथा कर्मचारीको ११ लाख ३६ हजार नौ सय ८६ रुपैयाँ योगदान रहेको छ । त्यसैगरी, समूहअन्तर्गतको न्यादी हाइड्रो पावर लिमिटेडले पाँच लाख ५० हजार, हिमाल पावर लिमिटेडले पाँच लाख, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले पाँच लाख पाँच हजार र खुदी हाइड्रो पावर लिमिटेडले दुई लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।
बाढीपीडितलाई कन्टिनेन्टल ट्रेडिङको २५ लाख सहयोग
कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले २५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका अध्यक्ष सुहृद घिमिरे, कार्यकारी उपाध्यक्ष रेखा घिमिरे तथा निर्देशक अदीति घिमिरेसहितको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेको हो । विपत्मा पीडित नागरिकको दुःखमा साथ दिन तथा सरकारको राहत र उद्धार अभियानमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा योगदान गरेको कम्पनीले जनाएको छ । प्रतिनिधिले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । साथै, विपत्मा परी घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
उद्धार कोषमा नागरिक स्टक डिलरको सवा २० लाख
विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाका लागि नागरिक स्टक डिलर कम्पनी लिमिटेडले २० लाख सहयोग गरेको छ । कम्पनीले आफ्नो कोष र कर्मचारीको एक दिनको तलबबराबर २० लाख २५ हजार आठ सय ८७ रुपैयाँ सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो । बाढीबाट ठुलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै कम्पनीले ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा बाढीमा परेका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
केल्मी नेपालद्वारा १५ लाख सहयोग
खेलकुद पोसाक तथा सामग्री उत्पादक ब्रान्ड केल्मी नेपालले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा सहयोग कार्यक्रमको घोषणा गरेको छ । कम्पनीले बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा १५ लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ जम्मा गरिसकेको छ । यसैगरी, कम्पनीले आगामी १५ दिनभित्र रसुवा र नुवाकोटमा करिब डेढ करोड रुपैयाँबराबरका नयाँ कपडा समावेश गरी ‘क्लोथ बैंक’ सञ्चालन गर्ने बताएको छ ।
उद्धार कोषमा इन्फिनिटी लघुवित्तको सात लाखभन्दा बढी योगदान
विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति इन्फिनिटी लघुवित्तले दुःख व्यक्त गरेको छ । संस्थाले यो विपत्को घडीमा बाढी प्रभावितलाई सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सात लाख १७ हजार तीन सय ४८ रुपैयाँ जम्मा गराएको छ । यो रकम संस्था तथा संस्थाका कर्मचारीका तर्फबाट संकलन गरिएको हो ।
मातृभूमि लघुवित्तले दियो पाँच लाख
विनाशकारी बाढीबाट सिर्जित प्राकृतिक प्रकोपजन्य संकटमा मातृभूमि लघुवित्तले मलम लगाउने प्रयाग गरेको छ । लघुवित्तले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । लघुवित्तका अनुसार विषम परिस्थितिमा राहत तथा उद्धार कार्यका लागि सरकार तथा विभिन्न संघ–संस्थाले गरेको सार्थक पहलप्रति ऐक्यबद्धता जनाउँदै यो सहयोग गरिएको हो ।
औषधि आयातकर्ता संघद्वारा तीन करोडबराबरको औषधि हस्तान्तरण
नेपाल औषधि आयातकर्ता संघले तीन करोड मूल्यबराबरको औषधि सहयोग गरेको छ । विनाशकारी बाढीबाट प्रभावित भएकाको उपचारमा सहजताका लागि महत्वपूर्ण औषधि तथा स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्री निशा मेहतालाई हस्तान्तरण गरिएको हो । आइतबार संघका अध्यक्ष पवनकुमार आचार्यको टोली पुगेर उक्त औषधि हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएका औषधिमा हैजा, झाडापखालाका लागि चाहिने कोलेरा भ्याक्सिन, टिटानस भ्याक्सिन, एन्टिरेबिज भ्याक्सिन, पारासिटामोललगायत छन् ।
‘हामीले आफ्नोतर्फबाट गर्न सक्ने सहयोग सरकारलाई गरेका हौँ, अहिले बाढीपछि स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्रीको अभाव नहोस् भनेर उक्त सामान स्वास्थ्यमन्त्रीज्यूमार्फत हस्तान्तरण गरेका छौँ,’ उनले भने, ‘आगामी दिनमा पनि हामी सरकारलाई यसैगरी सहयोग गर्न तयार छौँ ।’