मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
२o८३ भदौ १७ बुधबार ११:१o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीपीडितको पुनर्स्थापनामा केन्द्रित हुन सरकारलाई बागमती कांग्रेसको आग्रह 

१० लाख ६६ हजार ६ सय ६६ रुपैयाँ राहत कोषमा हस्तान्तरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार ११:१o:oo

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र दीर्घकालीन पुनर्स्थापनालाई केन्द्रमा राख्दै कांग्रेस बागमती प्रदेशले सरकारलाई पुनर्स्थापनाका कार्यक्रम प्रभावकारी बनाउन आग्रह गरेको छ । 

पार्टीले राहतस्वरूप १० लाख ६६ हजार ६६६ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उपलब्ध गराउँदै पुनर्निर्माण र पुनर्वासका कार्यक्रमलाई बाढीपीडितमै केन्द्रित गर्न आग्रह गरेको हो ।

कांग्रेस बागमती प्रदेश कार्यसमितिले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ र बागमती प्रदेश संसदीय दलले पाँच लाख ११ हजार १११ रुपैयाँ गरी कुल १० लाख ६६ हजार ६६६ रुपैयाँ नेपाली कांग्रेस विपत् व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।

कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठले प्रदेश कार्यसमिति र संसदीय दलका तर्फबाट छुट्टाछुट्टै चेक नेपाली कांग्रेसकी केन्द्रीय उपसभापति पुष्पा भुसाललाई पार्टीको केन्द्रीय कार्यालय सानेपामा हस्तान्तरण गरेका हुन्।कांग्रेस बागमती प्रदेशका सभापति तथा प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बाढी प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु मात्र पर्याप्त नहुने भन्दै पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताए।

उनका अनुसार रसुवा, नुवाकोट र धादिङमा ठुलो जनधनको क्षति भएको छ भने चितवन, गोरखा, तनहुँ र नवलपरासीसमेत बाढीबाट प्रभावित भएका छन्। यस्तो अवस्थामा बेपत्ता नागरिकको खोजी, घाइतेको उपचार र घरबारविहीन परिवारको पुनर्वासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उनले बताए।

एक हजार घर निर्माण कार्यक्रम बाढीपीडितका लागि केन्द्रित गर्न माग
कांग्रेसले बागमती प्रदेश सरकारको आर्थिक वर्ष ०८३/८४ को बजेटमा समावेश एक हजार घर निर्माण कार्यक्रमलाई बाढीपीडितको पुनर्स्थापनामा केन्द्रित गर्न माग गरेको छ। त्यस्तै, आयआर्जन गुमाएका परिवारका लागि सिप, प्रविधि र बिउ पुँजी हस्तान्तरण कार्यक्रमसमेत प्रभावित समुदायलाई लक्षित गर्नुपर्ने कांग्रेसको धारणा छ।

कांग्रेसले प्रदेश सरकारमातहतका अस्पतालमा उपचाररत घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न, बिरामी र कुरुवाका लागि खाना र बासको व्यवस्थापन गर्न तथा दीर्घरोगीले नियमित पाउँदै आएका निःशुल्क औषधिको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराएको छ।

त्यसैगरी, बाढी प्रभावित क्षेत्रमा राहत ढुवानी र आवतजावत सहज बनाउन वैकल्पिक सडक, झोलुंगे पुल र बेलिब्रिज निर्माणलाई तत्काल अघि बढाउन तथा घरबारविहीन परिवारका लागि अस्थायी र स्थायी पुनर्वासको योजना कार्यान्वयन गर्न पनि कांग्रेसले आग्रह गरेको छ ।

कांग्रेसले उद्धार, राहत र पुनर्स्थापनामा सहयोग गर्न प्रदेशदेखि वडा र टोल तहसम्म पार्टी संरचना परिचालन गरेको जनाएको छ। यसका लागि प्रदेश प्रवक्ता तिलकप्रसाद रुवालीको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ। समितिले रसुवा, नुवाकोट, धादिङ र चितवनका जिल्ला नेतृत्वसँग समन्वय गर्दै राहत तथा पुनर्स्थापनाका काम अघि बढाइरहेको जनाएको छ।