रोजगारीका लागि भारतमा रहेका कालीकोट नरहरिनाथ गाउँपालिका– ९, लालुका चक्र दर्जी र डिल्ली दर्जीको मृत्यु भएको छ । भारतको उत्तराखण्ड अल्मोडामा गत सोमबार राति आएको पहिरोले घर भत्किँदा उनीहरूको मृत्यु भएको हो ।
अविरल वर्षाका कारण बस्ने घर भत्किएर पुरिँदा उनीहरूकाे मृत्यु भएको नरहरिनाथ गाउँपालिका– ९ का वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए । ‘रोजगारीको सिलसिलामा भारत उत्तराखण्डको अल्मोडामा सुतिरहेको अवस्थामा उनीहरूको मृत्यु भएको हो,’ उनले भने, ‘शवको आवश्यक प्रक्रिया र व्यवस्थापन गरी अल्मोडाबाट जन्मभूमि ल्याउने काम भइरहेको छ ।’
उनीहरू भारतमा आफ्नो रोजीरोटी र छोराछोरीको पढाइलेखाइका लागि सुन्दर भविष्यको कल्पना गर्दै ज्याला–मजदुरी गर्न छिमेकी भारतमा जाने गरेको वडाध्यक्ष बोहोराले बताए ।
मृतक चक्रका तीन छोरा, श्रीमती र डिल्लीका एक छोरा, दुई छोरी र श्रीमती छन् । उनीहरूको मृत्युले गाउँमा अहिले शोकमग्न भएको स्थानीय शिक्षक चिन्तन नेपालीले बताए । उनीहरूको शव नेपाल ल्याउने काम भइरहेको र गाउँमा नै दाहसंस्कार गरिने उनको भनाइ छ ।