चौधरी फाउन्डेसनले रसुवा बाढीबाट सर्वाधिक प्रभावित नुवाकोटको त्रिभुवन त्रिशूली मावि तत्काल सञ्चालनमा ल्याउन प्रभावकारी सहयोग गर्ने निर्णय गरेको छ । विद्यार्थीलाई विद्यालयमा फर्काई उनीहरूको मनोवैज्ञानिक असर कम गर्न एवं अध्ययनलाई निरन्तरता दिन फाउन्डेसनले आपत्कालीन सहयोग गर्न लागेको हो ।
फाउन्डेसनले उक्त विद्यालयमा डिजिटल क्लासरुमको अवधारणानुसार कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउनेछ । यसका लागि आवश्यक स्मार्ट बोर्ड, डेस्कटप, ल्यापटप, प्रोजेक्टर तथा इन्टरनेटको व्यवस्था मिलाइनेछ । त्यसैगरी, कक्षाकोठामा फर्निचरजन्य सामग्री र विद्यार्थीलाई स्कुल ब्याग तथा स्टेसनरी सामग्री पनि उपलब्ध गराइने बताइएको छ ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले विद्यालय सञ्चालनमा ल्याउन वैकल्पिक भवनको व्यवस्था मिलाउन लागिएको बताए । सोही भवनबाट कक्षा सञ्चालन गर्न फाउन्डेसनले सहयोग गर्नेछ । उक्त विद्यालयमा १६ सय विद्यार्थी अध्ययनरत थिए ।
‘बाढी प्रभावित क्षेत्रका बालबालिकालाई मनोवैज्ञानिक असरबाट जोगाउन आपत्कालीन सहयोग कार्यक्रमअन्तर्गत त्रिभुवन त्रिशूली माविमा जतिसक्दो छिटो पठनपाठन अगाडि बढाउन चाहन्छौँ,’ फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले भने ।