अर्जेन्टिनी कप्तान लियोनल मेसीले दोस्रोपटक अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरिसकेका छन् । राष्ट्रिय टोलीबाट सन्न्यास लिए पनि मेसी सन् २०२८ सम्म इन्टर मियामीसँग आबद्ध रहनेछन् । क्लबस्तरीय फुटबल प्रतियोगितामा उनी अझै दुई वर्ष सक्रिय हुनेछ । यो दुई वर्ष उनले आफ्नो जादुमयी खेलबाट विश्वलाई मन्त्रमुग्ध बनाउनेछन् । राष्ट्रिय टोलीबाट २० वर्ष अनवरत रूपमा प्रतिस्पर्धा गरेका मेसीले बुबा जार्गेको निधनसँगै सन्न्यास लिने निर्णयमा पुगेको बताएका छन् ।
बुबा जर्गे मेसीका एजेन्ट हुन् । एजेन्टका रूपमा जर्गेले पनि छोरासँग दुई दशक सहकार्य गरे । मेसीको हरेक निर्णयमा बुबाको साथ रहँदै आएको थियो । गत महिना बुबाको निधनसँगै मेसी विक्षिप्त बनेका थिए । ‘मलाई थाहा छैन, बुबाविना कसरी फुटबल अगाडि बढ्छ,’ मेसीले भावुक हुँदै सन्न्यास लिएको पत्रमा उल्लेख छ, ‘बुबा भनौँ वा एजेन्ट उहाँसँगै मेरो फुटबल चलिरहेको थियो अब त्यो अवस्था छैन ।’
अर्जेन्टिनालाई आफ्नो एकल प्रयासमा तीनपटक फिफा विश्वकप फाइनलमध्ये एकमा विजेता बनाएका मेसीले राष्ट्रिय टोलीबाट २०७ खेलमा कीर्तिमानी १२५ गोल गरेका छन् । अर्जेन्टिनाको फुटबल इतिहासमा उनलाई सर्वकालीन महान् खेलाडीको दर्जा दिइएको छ । उनले करिअरमा ९२१ गोल गरेका छन् । व्यावसायिक फुटबलमा उनले बार्सिलोना, पेरिस सेन्ट जर्मेन र इन्टर मियामीबाट मात्रै खेले । उनै वर्तमान समयकै उत्कृष्ट खेलाडी मेसीसँग जोडिएका स्मरणीय क्षणहरूको सामग्री तयार गरेको छ ।
करिअरकै पहिलो ह्याट्रिक
मेसीले करिअरको पहिलो ह्याट्रिक स्पेनिस ला लिगको चर्चित ‘एल क्लासिको’मा रियल म्याड्रिडविरुद्ध गरेका थिए । सन् २००७ को १० मार्चमा उनले १९ वर्षको उमेरमा बार्सिलोनालाई तीन–तीनको बराबरीमा पुर्याउन ह्याट्रिक लगाएका थिए । यसै ह्याट्रिकपछि उनी अर्जेन्टिनी राष्ट्रिय टोलीमा परेका हुन् ।
अन्तिम विश्वकप
मेसीले चार वर्षअघि लगभग एकल प्रयासमा अर्जेन्टिनालाई विश्वकप दिलाए । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा हराएको थियो । सन् १९८६ पछि अर्जेन्टिनाले विश्वकप जित्दा मेसी कप्तान थिए । सन् २०२६ मा पुनः एकपटक अर्जेन्टिना ब्याक टु ब्याक विश्वकपको फाइनलमा पुग्यो । जसमा मेसीको योगदान सर्वाधिक मानिन्छ । २३औँ विश्वकपमा मेसीले आठ गोल गरेका थिए । उनले विश्वकप गोल संख्या २१ पुर्याएका छन् । फाइनलमा स्पेनबाट एकपक्षीय खेलमा पराजित भएपछि मेसीको राष्ट्रिय टोलीबाट दुखद बिदाइ भयो ।
म्याराडोनाको झल्को दिने गोल
धेरैले मेसीलाई अर्जेन्टिनाका पूर्वकप्तान डिएगो म्याराडोनासँग तुलना गर्छन् । मेसी र म्याराडोनाको खेल्ने शैली र मैदानमा ड्रिब्लिङ गर्नेमा कुनै फरक नभएको मान्छन् । उनले आफूलाई उत्कृष्ट ड्रिब्लिङ खेलाडीका रूपमा सन् २००७ मा गेटाफेविरुद्धको खेलमा प्रमाणित गरे । स्पेनिस ला लिगाको खेलमै मेसी गेटाफेका पाँच डिफेन्डरलाई सहज कटाएर डिबक्सभित्र पुगे । त्यसपछि उनले गोलरक्षकलाई समेत छकाएर उत्कृष्ट गोल गरे । धेरैले यस गोललाई सन् १९९६ मा म्याराडोनाले इंग्ल्यान्डविरुद्धको विश्वकपमा गरेको सम्झिए । म्याराडोनाले इंग्ल्यान्डविरुद्ध मैदानको मध्यभागबाट एकल प्रयासमा पाँच डिफेन्डर गोलरक्षकलाई समेत लगाएर उत्कृष्ट गोल गरेका थिए । उनको यस गोललाई शताब्दीकै उत्कृष्ट गोलका रूपमा समावेश गरिएको छ ।
बायर्नविरुद्ध पाँच गोल
मेसीले आफ्नो करिअरमा पहिलोपटक चार गोल च्याम्पियन्स लिगमै गरेका थिए । सन् २०१० को च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलमा उनले आर्सनलविरुद्ध एक्लैले चार गोल गरेका थिए । यस खेलमा बार्सिलोना ४–१ ले विजयी भयो । सन् २०१२ को च्याम्पियन्स लिगमा मेसीले अर्को दमदार प्रदर्शन बायर्न लेभरकुसेनविरुद्ध गरेका थिए । बार्सिलोनाले यस खेलमा ७–१ को सानदार जित निकाल्दा मेसी एक्लैले पाँच गोल गरेका थिए ।
च्याम्पियन्स लिग फाइनलमा पहिलो गोल
सन् २००९ को युरोपियन च्याम्पियन्स लिगको फाइनल बार्सिलोना र म्यानचेस्टर युनाइटेडबिच भएको थियो । प्रतिस्पर्धामा मेसीले प्रेरणादायी खेल प्रस्तुत गरेका थिए । तर, अनुभवी प्रशिक्षक सर एलेक्स फर्गुसनको कमान्डमा रहेको युनाइटेडले बार्सिलोनालाई हरायो । यस खेलमा बार्सिलोना पराजित भए पनि एउटा प्रसंग सबैलाई यादयार बनाएको छ । मेसीले फाइनलमा उत्कृष्ट हेडिङ गोल गरेका थिए । उनको हेडिङ गोलमा इंग्लिस समर्थक चुप लाग्न विवश भए ।
पाँच सय गोलको खुसी
सन् २०१७ को एल क्लासिमा रियल म्याड्रिडले बार्सिलोनाविरुद्ध अन्तिम समयसम्म अग्रता बनाएको थियो । त्यो समयमा एल क्लासिकोको छुट्टै विशेषता थियो । रियलमा क्रिस्टियानो रोनाल्डो र बार्सिलोनामा मेसी थिए । मैदानमा यी दुई खेलाडीबिच उत्कृष्टको होडबाजी चल्यो पनि । इन्जुरी समयमा उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई सनसनी जित दिलाए । बार्सिलोनाका लागि उनको विजयी गोल पाँच सय संख्या थियो । गोलसँगै उनले आफ्नो जर्सी फुकालेर रियलका समर्थकहरूतर्फ देखाएको दृश्य फुटबल इतिहासकै सबैभन्दा चर्चित उत्सव मानिएको छ ।
आँसु झार्दै बार्सिलोनाबाट बिदा
सन् २०२१ मा मेसीले बार्सिलोना छाड्ने निर्णय गरेका थिए । बार्सिलोनामै हुर्किएका मेसीले २१ वर्षको यात्रा टुंग्याउँदा रुँदै बाहिरिए । विश्वभरि कोभिड– १९ को महामारीका कारण बार्सिलोना आर्थिक रूपमा कमजोर बनेको थियो । यस्तोमा बार्सिलोनाले मेसीलाई पाल्न नसक्ने सांकेतिक प्रतिक्रिया दिएको थियो । मेसीले बार्सिलोनालाई धेरै प्रस्ताव राखेका थिए । केही पनि सिप नलागेपछि मेसीले आफ्नो बिदाइमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भावुक बने ।
एकै सिजनमा ९१ गोलको विश्वकीर्तिमान
सन् २०१२ मा सम्भवतः मेसी आफ्नो करिअरको उत्कृष्ट फर्ममा थिए । यस सिजनमा उनले अविस्मरणीय रूपमा विपक्षी पोस्टमा गोल गरे । सन् २०१२ मा मेसीले क्लब र अर्जेन्टिनाका लागि गरी कुल ९१ गोल गरे । उनको यो सफलता विश्व कीर्तिमानकै रूपमा रह्यो ।
बार्सिलोनाका सर्वाधिक गोलकर्ता
सन् २०१२ मा मेसी २४ वर्षका थिए । यो युवा अवस्थामै मेसीले बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भए । उनले सेजर रोड्रिग्वेजको नाममा रहेको २३२ गोल तोडे । यो रेकर्ड भंग हुन ६० वर्ष लागेको थियो । बार्सिलोनाको इतिहासमै अहिलेसम्म मेसी नै धेरै गोल गर्ने खेलाडी हुन् । बार्सिलोना त्याग्दा उनको नाममा ६७२ गोल संख्या थियो ।
आठ बालोन डिअरका विजेता
सन् २०२२ मा कतारमा आयोजना भएको विश्वकप फुटबल प्रतियोगिताको ट्रफी अर्जेन्टिनालाई दिलाएपछि मेसीले आठौंँपटक बालोन डिअर ट्रफी जिते । यो अवार्ड धेरैपटक जित्ने उनी एक्ला फुटबलर हुन् । पोर्चुगलका रोनाल्डोले पाँचपटक बालोन डिअर जितेका छन् ।
–बिबिसीको सहयोगमा