अस्पताल लेखेको भ्यानमा राखेर तस्करी गर्न लागेको गाँजा शसस्त्र प्रहरीले पक्राउ गरेको छ।मोरङको विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकबाट दिब्य ज्योति अस्पतालको भ्यानमा राखेर भारततर्फ तस्करी गर्न लागेकोे करिब ६० किलो गाँजा सशस्त्र प्रहरीले मंगलबार राती पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल कंकालिनी गण मोरङका अनुसार बोर्डर आउट पोष्ट दरैयाबाट खटिएको टोलीले मंगलबार राति करिब ११ बजे ‘दिव्य ज्योति अस्पताल प्रालि’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यान रोकेर जाँच गर्न बोरामा लोड गरिएको ६०केजी गाँजा फेला परेको थियो । प्रहरीले गाँजा फेला पारेपनि भ्यान चालक गाडी छाडेर फरार भएका थिए। बरामद गाँजा र भ्यान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी रानीमा बुझाउने तयारी भइरहेको छ।
शसस्त्र प्रहरी मोरङको टोलीलेृ साउनदेखि भदौ पहिलो सातासम्म मोरङका विभिन्न सीमा क्षेत्रबाट ८५ लाख ६२ हजार ४८५ रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरी विराटनगर भन्सार कार्यालयमा बुझाइको छ। यही अवधिमा लागूऔषधतर्फ ८ जना मानिससहित ८२० मिलिग्राम खैरो हेरोइन, १८ हजार ६० ट्याब्लेट ट्रामाडोल र ६ हजार ट्याब्लेट डाइसाइक्लोमिन एचसीएल बरामद गरेको छ।
लागुऔषध गाँजा र मेडिकल ड्रग्स अनि भन्सार छली गरेका सामानहरु ओसारपसारका लागि मोरङमा एम्बुलेन्स,अस्पताल र विभिन्न संघसंस्थादेखी मालवाहक र नीजि विभिन्न सवारी साधनहरु व्यापक रुपमा प्रयोग हुदै आएका छन ।