रसुवा बाढीपीडितका लागि जुम्लाका सहयोगीदाताको १६ लाख ५१ हजार ५६१ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भएको छ । गुठीचौर गाउँपालिका जुम्लाले रसुवा बाढीपीडित कोषमा १२ लाख ६७ हजार ३४८ रुपैयाँ सहयोग गरेको छ ।
भदौ १० गते आएको बाढीले ठुलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थानामा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो । गाउँ कार्यपालिकास्तरीय विपत् व्यवस्थापन समितिको बैठकले गरेको निर्णयअनुसार सहयोग रकममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा गाउँपालिकाको विपत् व्यवस्थापन कोषबाट संकलित रकम समावेश गरिएको छ । गाउँपालिकाले भोटेकोशी क्षेत्रमा भएको ठुलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।
घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार, राहत र पुनर्स्थापनाका कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। गाउँपालिकाका कार्यवाहक अध्यक्ष शान्तिकुमारी मल्लले विपतको पीडामा परेका नागरिकलाई स्थानीय तहको तर्फबाट सक्दो सहयोग गर्नु मानवीय दायित्व भएको बताइन् ।
रसुवामा भएको क्षतिले देशभरका नागरिकलाई दुःखी बनाएको उल्लेख गर्दै उनले प्रभावित परिवारको उद्धार तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरिएको बताइन् । प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापले विपतका वेला राहत तथा उद्धारका कामलाई प्रभावकारी बनाउन सबै पक्षबिच समन्वय आवश्यक रहेको बताए ।
गाउँपालिकाले उपलब्ध स्रोतबाट सहयोग जुटाएर पीडितसम्म राहत पुर्याउने प्रयास गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग तथा समन्वयका लागि तयार रहेको उनको भनाइ छ । यसैबिच, गुठीचौर गाउँपालिकाले आफ्ना नागरिकका हकमा पनि खोज तथा उद्धारका लागि थप सहयोग गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाको विज्ञप्तिमा भनिएको छ– जन्मघर गाउँपालिकासँग सम्बन्धित एक व्यक्तिका लागि ७५ हजार रुपैयाँका दरले नौजनालाई कुल ६ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ । गाउँपालिकाले विपत् प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै नागरिक तथा सहयोगी निकायलाई समेत राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न आग्रह गरेको छ।
यसैगरी, जुम्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा सनलाइट इलेक्ट्रोनिक्स एन्ड मोबाइल पसलका सञ्चालक बालकृष्ण बुढाक्षेत्रीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५५ हजार पाँच ५५५ रुपैयाँ सहयोग गरेका छन् । जुम्लाकै व्यवसायी तथा शिवालय ट्रेडर्स एन्ड हाउस सप्लायर्सका सञ्चालक देवेन्द्रराज उपाध्यायले ५५ हजार पाँच सय रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै, युवा व्यवसायी तथा डिके स्टेप इन फेसन सेन्टरका सञ्चालक दिनेश खड्काले पनि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५१ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । उद्योग वाणिज्य संघ जुम्लाले एक लाख एक हजार रुपैयाँ, जुम्ला हार्डवेयरका युवा व्यवसायी रवीन्द्र महतले ५५ हजार ५५५ रुपैयाँ र जुम्ला हार्डवेयरका स्टाफले ४८ हजार पाँच सय रुपैयाँ राहत कोषमा जम्मा गरेका छन् । समाजसेवी किशोर न्यौपानेले पनि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ हजार रुपैयाँ जम्मा गरेका छन् ।
विपतकाे समयमा स्थानीय सरकार, व्यवसायी तथा नागरिकस्तरबाट भएको सहयोगले प्रभावित परिवारको उद्धार, राहत र पुनर्स्थापनामा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
७१ नागरिक सम्पर्कविहीन
रसुवा बाढीपछि हराइरहेका जुम्लाका नागरिकमध्ये हालसम्म २८ जना सम्पर्कमा आएका छन्। सबैभन्दा बढी पातारासी गाउँपालिकाबाट रोजगारीका लागि रसुवा पुगेका ७६ जनामध्ये हालसम्म २३ जना मात्र सम्पर्कमा आएकोे गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले बताए ।
प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले स्थानीय तहबाट प्राप्त विवरणअनुसार कामका लागि जुम्लाबाट रसुवा पुगेका ९९ जनाको नाम ठेगाना पुष्टि भएको छ । बाढीपछि हराइरहेकामध्ये थप पाँचजना सम्पर्कमा आएका भए पनि ठेगाना प्रमाणित गर्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी प्रसाईंको भनाइ छ । जिल्लाबाट कामको सिलसिलामा रसुवा पुगेका अधिकांश पुरुष रहेका छन् ।
सम्पर्कविहीन यहाँका ७१ जना नागरिकको खोजी र उद्धारकार्यका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी प्रसाईंले बताए । सम्पर्कविहीनका आफन्तले खोजी कार्यका लागि स्थानीय प्रशासनमार्फत आग्रह गरेका छन् ।