कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथ (मकवानपुरको पालुङ–टिस्टुङ–नौबिसे–नागढुंगा) हुँदै पेट्रोलियम पदार्थ काठमाडौं भित्रिन थालेको छ । सोमबार दिउँसो ३:३० बजे हेटौँडाबाट पेट्रोल, डिजेल, हवाई इन्धन बोकेका ६२ ट्यांकर त्रिभुवन राजपथ हुँदै काठमाडौं पठाइएको आयल निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जका प्रमुख अशोक साहले जानकारी दिए ।
उक्त सडक साँघुरो भएकाले दुईतर्फी बनाउँदा जाम हुने तथा पेट्रोलियम पदार्थको ढुवानीमा जोखिम हुने भएकाले एकतर्फी रूपमा पेट्रोलियम ल्याइएको हो । सोही बाटोबाट काठमाडौंका लागि ग्यास सिलिन्डर लिएर ट्रकसमेत आएका छन् ।
आयल निगमको हवाई इन्धन कार्यालय, सिनामंगलका प्रमुख प्रदीप यादवका अनुसार ६२ मध्ये २५ ट्यांकर हवाई इन्धनका छन् । ‘सबै ट्यांकर बिहानसम्म काठमाडौं आइपुग्नेछन्,’ उनले भने । सिनामंगल डिपोमा ४७ लाख लिटर हवाई इन्धन मौज्दातसमेत रहेको र उक्त परिमाणले कम्तीमा १२ दिनको माग धान्न सक्ने उनले बताए ।
निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटका प्रमुख जगदीश यादवका अनुसार वैकल्पिक मार्गबाट राति अबेर आइपुग्ने पेट्रोल र डिजेल अनलोडका लागि कार्यालयमा कर्मचारी खटाइने भएको छ । काठमाडौंमा इन्धन आपूर्तिका लागि एक सातालाई धान्ने मौज्दातसमेत रहेको उनले बताए ।
हेटौँडाको सहारा ग्यास उद्योगमा रिफिल भएको एभरेस्ट र सुगम ग्यासको सिलिन्डर बोकेका १४ गाडी सोमबार दिउँसो निस्किएका उद्योगी शिवप्रसाद घिमिरेले जानकारी दिए । ग्यास बोकेका ट्रक भने हेटौँडा–कुलेखानीको बाटो हुँदैसमेत आउने भएका छन् ।
आयल निगमको तथ्यांकअनुसार सोमबार काठमाडौंमा एभरेस्ट र सुगम ग्यास मात्रै भित्रिएको छ । अन्य उद्योगीले भने प्रशासनिक काम गर्दा काठमाडौंमा ग्यास ल्याउन सकेनन् ।
तराईबाट ग्यास र हवाई इन्धन ल्याउन दुई कमिटी
तराईबाट काठमाडौंसम्म एलपी ग्यास र हवाई इन्धनको ढुवानी र आपूर्ति व्यवस्थापनको निरीक्षण गर्न आयल निगमले दुईवटा कमिटी गरेको छ । निगमको एलपिजी तथा एभिएसन विभाग प्रमुखसमेत रहेका निर्देशक विनीतमणि उपाध्यायका अनुसार ग्यास आपूर्ति सजहताका लागि उपनिर्देशक अभिषेक ठाकुरको संयोजकत्वमा उपेन्द्र सुवेदी, सुमन पुडासैनी र विकास बखती रहेको चार सदस्यीय समिति गठन गरिएको छ । त्यस्तै, हवाई इन्धन आपूर्ति सहजताका लागि उपनिर्देशक रामहरि निरौलाको संयोजकत्वमा अनुपम पराजुली र मधुमास पुन रहेको तीन सदस्यीय कमिटी गठन भएको छ । एलपिजीसँग सम्बन्धित समितिलाई बारा, पर्सा, चितवन र नवलपरासीसम्मका उद्योगमा ग्यास रिफिलिङदेखि आयातको व्यवस्था ामिलाउन कार्यादेश दिइएको छ । त्यस्तै, हवाई इन्धन समितिलाई निगमको अमलेखगन्जमा रहेर व्यवस्थापन हेर्ने जिम्मेवारी दिइएको छ ।