मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
२o८३ श्रावण १५ शुक्रबार ११:o५:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

विशेषज्ञ डाक्टर नहुँदा रोल्पा अस्पतालमा शल्यक्रिया र प्रसूति सेवा पूर्ण रूपमा बन्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार ११:o५:oo

रोल्पा अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा शल्यक्रिया तथा जटिल प्रकृतिको प्रसूति सेवा बन्द भएको छ । मेडिकल सुपरिटेन्डेन्टसहित ११ जना विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि एकजना पनि विशेषज्ञ डाक्टर नहुँदा शल्यक्रियाका सम्पूर्ण सेवा पूर्ण रूपमा बन्द भएको हो ।

रोल्पाको रेउघामा रहेको रोल्पा अस्पतालमा निक साइमन इन्स्टिच्युटले उपलब्ध गराएको एमडिजिपीसहितको चिकित्सक टोलीलाई फिर्ता बोलाएपछि सेवा रोकिएको हो । सुविधासम्पन्न भवन निर्माण गरिए पनि विशेषज्ञ सेवा भने प्रभावकारी रूपमा सुचारु हुन सकेको छैन । ‘निक साइमन इन्स्टिच्युटले दिएको एमडिजिपी डाक्टरसापको नेतृत्वमा शल्यक्रियाका काम भइरहेका थिए,’ निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सूर्यप्रताप रैदासले भने, ‘चलिरहेको सेवा अवरुद्ध हुँदा हामीलाई पनि अप्ठ्यारो लागेको छ ।’

विशेषज्ञ सेवा पूर्ण रूपमा बन्द हुने कुरा गत वैशाखमै थाहा हुँदाहुँदै पनि सरोकारवाला सबै चुपचाप बसेको रोल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगी बताउँछन् । असारपछि सेवा रोकिनेबारे सबैतिर जानकारी गरिए पनि पूर्णतः बेवास्ता गरिएको डाँगीको आरोप छ ।

शल्यक्रिया र जटिल प्रकृतिका प्रसूति सेवा अवरुद्ध भएपछि रोल्पाबासीले थप सास्ती व्यहोरिरहेका छन् । ५० शङ्ढयाको विशेषज्ञ सेवासहितको प्रादेशिक अस्पताल भनिए पनि विशेषज्ञ डाक्टर शून्य छ । दैनिक एक सयदेखि तीन सयजनासम्म बिरामीले सेवा लिइरहेको अस्पतालमा अहिले ६ जना मेडिकल अधिकृतले सेवा दिइरहेका छन् ।

अस्पताल विकास समितिले भने विशेषज्ञ सेवा सुचारु गर्न प्रदेशमा पदपूर्तिका लागि पहल भइरहेको जनाएको छ । ‘कम्तीमा पनि जटिल प्रकारको प्रसूति शल्यक्रिया सेवालाई सुचारु गरौँ भनेर प्रदेश सरकार र मन्त्रीलाई पटकपटक भनिएको छ,’ अस्पताल विकास समितिका अध्यक्ष शेरबहादुर थापाले भने, ‘आश्वासन पाइरहेकै छौँ, तर अहिलेसम्म डाक्टर पाइएको छैन ।’ विशेषज्ञ डाक्टर नहुँदा ५० शङ्ढयाको अस्पताल रेफरल सेन्टरजस्तो भएको स्थानीयले बताएका छन् । 

रोल्पा अस्पतालको भौतिक पूर्वाधार राम्रो भए पनि दरबन्दीअनुसारको सेवा भने पूरा हुन सकेको छैन । अहिले अस्पतालमा विद्युत्का कारण भन्दै कोरोनाकालमा स्थापना गरिएको अक्सिजन प्लान्ट बन्द छ । त्यसका साथै विराट मेडिकल कलेजले निर्माण गरिदिएको फिल्टरसहितको खानेपानी सेवा पनि बन्द अवस्थामा छ । रोल्पा जिल्लास्तरको एक मात्र अस्पतालको प्रभावकारी सेवाका लागि सरकारको ध्यान जान जरुरी देखिन्छ ।