माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबिच कोषका कर्मचारीलाई विशेष बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याल तथा कोषका कामु सहप्रशासक भरतराज वस्तीले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बैंकले कोषका कर्मचारीका लागि प्रिमियम सुविधासहितको तलब व्यवस्थापन खाता सञ्चालन गर्नेछ । यस सुविधामार्फत कोषका कर्मचारीले सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा प्राप्त गर्नेछन् । तलब व्यवस्थापन खातासँगै बैंकले ग्राहकको आवश्यकतालाई ध्यानमा राखी विभिन्न अतिरिक्त बैंकिङ सेवासमेत उपलब्ध गराउनेछ । जसअन्तर्गत बचत तथा निक्षेप सुविधा, डिजिटल बैंकिङ सेवा, कर्जा सुविधा, कार्ड सेवालगायतका बैंकिङ सुविधा समावेश रहनेछन् ।
यस सहकार्यले संस्थागत बैंकिङ सेवाको विस्तारसँगै कोषका कर्मचारीलाई थप उत्कृष्ट वित्तीय अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ । बैंकले विभिन्न सरकारी कार्यालयको तलब व्यवस्थापन खाता सञ्चालन गर्दै आएको जनाइएको छ ।