मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १५ शुक्रबार १२:२५:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति, पूर्वराष्ट्रपति, दलका शीर्ष नेतादेखि पूर्वराजासम्मको अपिल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १२:२५:oo

राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सदभाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न अपिल गरेका छन् । ‘सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सदभाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा हो । यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकता मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आग्रह गर्दछु,’ बिहीबार अपिल जारी गर्दै पौडेलले भनेका छन् ।

पौडेलले अहिले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत् अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न हरसम्भव प्रयासमा सरकार लाग्ने विश्वास व्यक्त गरेका छन् । ‘यो कठिन अवस्थामा स्थिति थप जटिल बन्न नदिई समुदायमा एकता, आपसी सदभाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपिल गर्दछु,’ पौडेलको अपिलमा छ । उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कडा कारबाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरोकारवाला सबैलाई सचेत हुन पनि आग्रह गरेका छन् । पौडेलले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तराई क्षेत्रमा फैलिएको सामुदायिक तनावको संवेदनशील परिस्थितिमा उच्च संयमता अपनाउन र सामाजिक सदभाव खलबल्याउने गतिविधिबाट टाढा रहन आग्रह गरेकी छिन् । ‘वर्तमान संवेदनशील परिस्थितिमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उच्च संयमता अपनाउन, कुनै पनि प्रकारका अफवाह, घृणात्मक अभिव्यक्ति तथा सामाजिक सदभाव खलबल्याउने गतिविधिबाट टाढा रहन हार्दिक आग्रह गर्दछु,’ बिहीबार विज्ञप्तिमार्फत अपिल गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनेकी छिन् ।

कुनै एक घटनालाई आधार बनाएर कुनै पनि सम्पूर्ण समुदायप्रति अविश्वास, द्वेष वा प्रतिशोधको भावना राख्नु राष्ट्रिय हित, सामाजिक संस्कार तथा लोकतान्त्रिक मूल्यमान्यताअनुकूल हुन नसक्नेतर्फ उनले देशवासीलाई सचेत गराएकी छिन् । त्यस्तै, घटनाको निष्पक्ष छानबिन गरी शान्तिसुरक्षा पुनर्स्थापित गर्ने कदम चाल्न सरकारलाई भण्डारीले आग्रह गरेकी छिन् । ‘नेपाल सरकार, सम्बन्धित प्रशासनिक निकाय तथा सुरक्षा निकायलाई घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न, पीडितलाई न्याय सुनिश्चित गर्न तथा प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र नागरिकहरूको विश्वास पुनर्स्थापित गर्न आवश्यक सबै कदम चाल्न आग्रह गर्दछु,’ विज्ञप्तिमा छ ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई धर्म, संस्कृति र परम्पराको स्वतन्त्रतापूर्वक अभ्यास गर्ने मौलिक अधिकार सुनिश्चित गरेकाले सबैको आस्था, संस्कृति र अधिकारप्रति सम्मान प्रकट गर्नु सबैको दयित्व भएको पूर्वराष्ट्रपति भण्डारीको भनाइ छ ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सदभाव कायम राख्दै सहकार्य, एकता र शान्तिको आदर्शलाई अनुशरण गर्न अनुरोध गरेका छन् । ‘केही दिनदेखि तराईका विभिन्न क्षेत्रमा देखिएका गतिविधिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । हामी नेपालीहरूको विशेषता भनेको एक–अर्काको सहअस्तित्वलाई स्वीकार गर्दै आपसी सदभाव, एकता र सहकार्यलाई कायम राख्नु हो,’ उनले भनेका छन्, ‘म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सामाजिक सदभाव कायम राख्दै सहकार्य, एकता र शान्तिको आदर्शलाई अनुसरण गर्न हार्दिक अनुरोध गर्दछु । साथै, हिंसा थप भड्किन नदिन सरकारलाई सबै राजनीतिक दलहरूसँग सहकार्य गर्दै तत्काल आवश्यक पहल तथा प्रभावकारी कदम चाल्न अनुरोध गर्दछु ।’ देउवाले घटनामा निधन भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

पूर्वी तराईमा उत्पन्न परिस्थितिप्रति चिन्ता जनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाहले एकतामा खलल पार्ने काम नगरी मिलेर बस्न आह्वान गरेका छन् । बिहीबार जारी सन्देशमा पूर्वराजा शाहले नेपाली समाज बहुजातीय र बहुभाषिक रहेको, धर्म, संस्कृति र रितिथिति अलग–अलग भएको उल्लेख गर्दै सामञ्जस्य रहेको देशमा तनाव देखिनु चिन्ताको विषय भएको उल्लेख गरेका छन् । ‘केही दिनअगाडि सुनसरी जिल्लाको केही गाउँबस्तीमा भड्किएको आपसी द्वन्द्व र विवादबाट जनधनको क्षति भएको र यसको असर फैलिँदै गएर कोशी क्षेत्र र तराईका विभिन्न भूभागको जनजीवन अशान्त बनेको सुन्दा हामीलाई अत्यन्त दुःख लागेको छ,’ उनको सन्देशमा छ, ‘समाजका सबै समुदायमा सामन्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवाञ्छित घटना, दुर्घटना घट्नु चिन्ताको विषय हो । यो हाम्रो मौलिक मूल्य र मान्यताविपरीतको विषय हो । त्यसैले जुनसुकै भू–भागमा रहे, बसेका जोकोही पनि हामी नेपाली मिलौँ । हाम्रो यही आग्रह छ । यही आजको आवश्यकता हो ।’