रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ४, छोटेबगरबाट करिब तीन किलोग्राम अफिमसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका– ३, स्यालाखदीका २८ वर्षीय टीकाराम बोहरा र आठबिसकोट नगरपालिका– २, स्यालाका २० वर्षीय गणेश वली रहेका छन्।
प्रहरीका अनुसार शंकास्पद अवस्थामा सडकछेउमा हिँडिरहेका उनीहरूलाई रोक्दै चेकजाँच गर्ने क्रममा टीकाराम बोहराले बोकेको झोलाबाट गणेश वलीले अचानक खुकुरी निकालेर प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। त्यसपछि प्रहरी सहायक निरीक्षक नीरजबहादुर पालले परिस्थितिलाई नियन्त्रणमा लिन एक राउन्ड हवाईफायर गरेका थिए।
त्यसपछि दुवैजनालाई नियन्त्रणमा लिएर शरीर तथा झोलाको खानतलासी गर्दा करिब तीन किलोग्राम अफिम र दुई थान खुकुरी बरामद भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।