मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १५ शुक्रबार १२:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेश सरकारले भन्यो– सामाजिक सदभाव र भाइचारा कायम राखौँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १२:३९:oo

मधेश प्रदेश सरकारले संयमता अपनाउँदै सहिष्णुता र आपसी सदभावलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ । मधेशमा पनि प्रदर्शन बढ्न थालेपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले घटना अत्यन्त दुःखद र खेदजनक रहेको बताउँदै सबैले सामाजिक सदभाव र भाइचारालाई कायम राख्न अनुरोध गरेका हुन् ।

‘घटनामा संलग्न दोषीमाथि छानबिन गरी कानुनबमोजिम सजाय त हुन्छ नै । अहिलेको मुख्य दायित्व नागरिकको जिउधनको सुरक्षा गर्नु हो । त्यसका लागि सबै जुटौँ,’ नयाँ पत्रिकासँग कुरा गर्दै मुख्यमन्त्री यादवले भने । घाइतेको उपचारका लागि प्रदेश सरकारले पहल र सहयोग गर्ने बताउँदै उनले मृतकका परिवारलाई राहतका निर्णय हुने बताए ।

त्यस्तै, उद्योग वाणिज्य संघ सिराहाले पनि संवेदनशील अवस्थामा संयमता अपनाई सामाजिक सदभाव, धार्मिक सहिष्णुता र आपसी भाइचाराको वातावरण बनाउन आग्रह गरेको छ । संघका जिल्ला अध्यक्ष प्रदीपकुमार गुप्ता र महासचिव रवीन्द्रकुमार श्रेष्ठले विज्ञप्तिमार्फत सुनसरी र सिराहा घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही तथा पीडित परिवारलाई शीघ्र न्याय दिलाउन आग्रह गरेका छन् ।

मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पछिल्ला घटनापछि प्रदेशका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सदभाव, शान्ति र आपसी भाइचारा कायम राख्न सबैसँग हार्दिक अपिल गरेका छन् । अपिल जारी गर्दै कर्णले मधेश प्रदेश विभिन्न आस्था, संस्कृति र परम्पराको साझा थलो भएकाले क्षणिक तनाव वा गलत बुझाइका कारण वर्षौँदेखि कायम रहेको आपसी विश्वास र सहअस्तित्वमा आँच आउन नदिन आग्रह गरेका हुन् ।