नेपाल प्रहरीले हालको विकसित सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै शान्ति–सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन वरिष्ठ प्रहरी अधिकृतहरूलाई विभिन्न प्रदेश तथा जिल्लामा विशेष जिम्मेवारीसहित खटाएको छ।
प्रहरी मुख्यालयका अनुसार खटाइएका अधिकृतहरूले प्रहरी जनशक्ति तथा स्रोत–साधन परिचालनको प्रभावकारिता मूल्यांकन गर्ने, आवश्यक नीति निर्देशन दिने, सुरक्षा योजनाको कार्यान्वयनको अनुगमन गर्ने, सूचना संकलन तथा विश्लेषण गर्ने तथा आवश्यकताअनुसार फिल्डमा समेत परिचालित हुने जिम्मेवारी पाएका छन्। उनीहरूले सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय तथा सहजीकरण पनि गर्नेछन्।
यसका साथै स्थानीय तहमा देखिएका सुरक्षासम्बन्धी समस्या तथा गुनासो सुन्ने, विकसित परिस्थितिलाई नियन्त्रणबाहिर जान नदिई समयमै सामान्यीकरणका लागि आवश्यक समन्वय गर्ने र आवश्यकताअनुसार प्रहरी महानिरीक्षकसमक्ष प्रतिवेदन पेस गर्ने दायित्व पनि उनीहरूलाई दिइएको छ।
प्रहरीले जिम्मेवारी तोकेका अधिकृतहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाह (बाँके), हिमालयकुमार श्रेष्ठ (मधेश प्रदेश), उमाप्रसाद चतुर्वेदी (कपिलवस्तु) र ईश्वर कार्की (कोशी प्रदेश तथा सुनसरी) रहेका छन्।
यस्तै प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य (सिराहा) र अविनारायण काफ्ले (सप्तरी)लाई पनि जिम्मेवारी दिइएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराई (सर्लाही), सोमेन्द्रसिंह राठौर (पर्सा), दीपशमशेर जबरा (रौतहट), नवराज अधिकारी (चितवन), कृष्णप्रसाद पंगेनी (महोत्तरी), होबिन्द्र बोगटी (बारा), ज्ञानेन्द्रप्रसाद फुयाँल (मोरङ), भुवनेश्वर तिवारी (धनुषा) तथा अमरेन्द्रबहादुर सिंह (मधेश प्रदेश)लाई पनि सम्बन्धित क्षेत्रमा सुरक्षा व्यवस्थापनको जिम्मेवारी तोकिएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले विकसित सुरक्षा चुनौतीलाई समयमै सम्बोधन गर्दै शान्ति–सुरक्षा कायम राख्न, कानुनको प्रभावकारी कार्यान्वयन गर्न तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक समन्वय, निगरानी र सुरक्षा व्यवस्थापनलाई थप सुदृढ बनाइने जनाएको छ।