सांसद रिमा विश्वकर्माले प्रतिनिधिसभाको बैठकमा झुट बोलेकी छिन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले अहिलेको सरकारले ८२ जना भूमिहीन सुकुमवासीलाई लालपुर्जा वितरण गरेको भन्दै झुट बोलेकी हुन् । सांसद विश्वकर्माले आफू जन्मभूमि बर्दिया पुगेर आएको र सरकारले भूमिहीन नागरिकको दशकौँदेखिको पीडालाई सम्बोधन गर्ने ऐतिहासिक अभियानअन्तर्गत ८२ परिवारलाई लालपुर्जा वितरण गरेको बताइन् ।
संसदमा बोल्दै सांसद बिश्वकर्माले भनिन्, ‘प्रमुख जिल्ला अधिकारीका अनुसार बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा २९ परिवार, बाँसगढी नगरपालिकामा १३ परिवार र गुलरिया नगरपालिकामा ४० परिवार गरी हालसम्म ८२ भूमिहीन सुकुमवासी परिवारले लालपुर्जा प्राप्त गरेका छन् । सामाजिक सञ्जालमा हाम्रो सरकारलाई सुकुमवासीको उठीवास गराउने सरकार भनेर प्रचार गरिए पनि, वास्तविकतामा सरकार समस्याको दीर्घकालीन समाधानतर्फ अघि बढेको छ।’
सांसद विश्वकर्माले उल्लेख गरेका ८२ परिवारमध्ये बाँसगढी नगरपालिकाका १३ र गुलरिया नगरपालिकाका ४० गरी ५३ परिवारले वर्तमान सरकार गठनअघि लालपुर्जा पाएका थिए । उनले आफ्नो सरकारको उपलब्धि भन्दै अघिल्लो सरकारको कामको तथ्यांक प्रस्तुत गरेकी छिन् । तत्कालीन भूमि समस्या समाधान आयोगले ३२ असार ०८२ मा गुलरिया नगरपालिकाको कार्यालयमा भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई लालपुर्जा वितरण गरेको थियो ।
बालेनको नेतृत्वमा सरकार बनेपछि १८ असार ०८३ मा बढैयाताल गाउँपालिकाका २९ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको थियो । प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले २९ घरपरिवारलाई लालपुर्जा वितरण गरेका थिए ।
सांसद विश्वकर्माले अझै पनि देशभर वास्तविक भूमिहीन सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोबास गर्ने लाखौँ परिवार जग्गाधनी प्रमाणपुर्जाको पर्खाइमा रहेको बताइन् । उनले भनिन्, ‘देशभरबाट दर्ता भएका १२ लाख ४७ हजार ४६९ निवेदनलाई कानुनबमोजिम प्रमाणीकरण गरियोस्। हुकुमवासीबाट वास्तविक सुकुमवासी छुट्याइयोस्। अधिकार पाउनुपर्ने एकजना पनि नागरिक नछुटून् र अभियानले देशभर निरन्तरता पाओस्।’
क्षणिक लोकप्रियताका लागि समस्याको राजनीतीकरण गर्न तल्लीन आलोचना र भ्रमहरूबिच, सबैका लागि सधैँका लागि दीर्घकालीन समाधानमा सरकार केन्द्रित भएको बताइन् ।