मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
नयाँ पत्रिका काठमाडौँ
२o८३ श्रावण १५ शुक्रबार १२:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनसरी घटनाप्रति सरकार गम्भीर, निष्पक्ष छानबिन हुने गृहमन्त्री गुरुङको प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १२:२१:oo

गृहमन्त्री सुधन गुरुङले सुनसरीमा हालै भएको द्वन्द्व तथा झडपको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन्। घटनास्थल पुगेर घाइते तथा मृतकका परिवारसँग भेटघाट गरेका उनले नागरिकको सुरक्षा, न्याय र निष्पक्ष छानबिनप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे।

गृहमन्त्री गुरुङले वर्तमान सरकारप्रति नागरिकको अपेक्षा उच्च रहेको उल्लेख गर्दै जनताका मागलाई बेवास्ता नगर्ने बताए। विगतमा उठाइएका माग सम्बोधन हुन नसकेको र छानबिन प्रक्रिया निष्पक्ष नभएको भन्ने गुनासो रहेको स्वीकार गर्दै उनले यसपटक त्यस्तो अवस्था दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे।

‘विगतमा धेरैपटक माग उठ्दा पनि सम्बोधन भएन र छानबिन निष्पक्ष भएन भन्ने गुनासो थियो। तर, यसपटक त्यस्तो हुँदैन। नागरिकले हामीलाई विश्वास गरेर जिम्मेवारी दिएका छन्, त्यसलाई निराश बनाउने काम सरकारले गर्दैन,’ उनले भने।

स्थानीयवासीले दर्ता प्रक्रियाविना ठुलो लगानीमा मस्जिद तथा मदरसा निर्माण भएको र राज्यको निगरानी कमजोर रहेको विषय उठाएपछि गृहमन्त्री गुरुङले विगतका कमजोरीको समीक्षा गर्दै आगामी दिनमा यस्ता विषयमा प्रभावकारी निगरानी गरिने बताए।

‘सरकार गठन भएको तीन महिना मात्रै भएको छ। विगतमा के भयो र कसले निगरानी गरेन भन्ने विषय पुरानो जिम्मेवारी हो। अब यस्ता विषयमा सरकारले आवश्यक ध्यान दिएर प्रभावकारी अनुगमन गर्नेछ,’ उनले भने।

घटना भएको केही दिनपछि मात्रै आफू सुनसरी पुगेको विषयमा स्पष्ट पार्दै गृहमन्त्री गुरुङले देशका विभिन्न क्षेत्रमा सुरक्षा व्यवस्थापन तथा शान्ति कायम राख्न आवश्यक पूर्वतयारी गर्नुपरेकाले घटनास्थल पुग्न केही समय लागेको बताए।