मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
२o८३ श्रावण १५ शुक्रबार १३:o१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटामा बजार अनुगमन तीव्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १३:o१:oo

पछिल्लो समय उपभोक्ताबाट बजारसम्बन्धी गुनासा बढेपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनलाई तीव्र बनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा गरिएको अनुगमनमा भीमनारायण चोकदेखि मदनचोकसम्म सञ्चालनमा रहेका डेरी र मिठाई पसलहरूको अनुगमन गरेको छ । यसअघि पनि जिल्ला अस्पतालआसपासका केही होटेलमा अखाद्य तथा गुणस्तरहीन खाना बिक्री गरेको गुनासोपछि अनुगमन गरी कारबाही गरिएको थियो । 

अनुगमन टोलीले धनकुटाको हुलाक टोल क्षेत्रमा गरिएको छड्के बजार अनुगमनका क्रममा अखाद्य वस्तु तथा मापदण्डविपरीत खाद्य सामग्री बिक्री–वितरण गरेको पाइएपछि एउटा डेरीसहित चार मिठाई पसललाई २० हजार रुपैयाँ जरिवाना गरेको छ ।

भीमनारायण चोकदेखि मदन चोकसम्म सञ्चालनमा रहेका डेरी तथा मिठाई पसलहरूको अनुगमन गर्दा अधिकांश मिठाई पसलमा पटक–पटक प्रयोग गरिएको तोरीको तेल पुनः प्रयोग गरिएको, तेलको गुणस्तर न्यूनतम मापदण्डभन्दा तल रहेको तथा खाद्य सुरक्षाका मापदण्ड पालना नगरिएको तथा बिलविजक जारी नगरिएको र गरिएको भएपनि अभिलेख कपी नराखिएको पाइएको थियो ।

त्यस्तै, एक डेरीमा घिउमा उत्पादन तथा उपभोग्य मिति उल्लेख नगरिएको, सरसफाइमा लापरबाही गरिएको र बिल प्रयोग नगरेको पाइएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत रामजी पौडेलले बताए । त्यसकारण मापदण्ड उल्लंघन गर्ने चारवटा पसललाई जनही पाँच हजार रुपैयाँका दरले २० हजार रुपैयाँ जरिवाना गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्री तथा तयारी खानेकुरा जफत गरी नष्ट गरिएको छ ।

अधिकांश पसलमा मूल्यसूची नराखिएको, सरसफाइको अवस्था कमजोर रहेको, व्यवसाय दर्ता नगरी सञ्चालन गरिएको तथा आवश्यकभन्दा बढी र अनधिकृत रासायनिक पदार्थ प्रयोग गरिएको पनि भेटिएको प्रशासनले जनाएको छ । अनुगमन टोलीले सम्बन्धित व्यवसायीलाई आगामी दिनमा अखाद्य वस्तुको बिक्री–वितरण नगर्न कडा चेतावनी दिएको जनाएको छ ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय, धनकुटा नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तथा उद्योग वाणिज्य संघ धनकुटाका प्रतिनिधिहरूको संयुक्त सहभागिता रहेको थियो ।