धनकुटामा राष्ट्रियस्तरको ‘नेसनल गट ट्यालेन्ट– २०८३’ तथा ‘मिस धनकुटा– २०८३’ हुने भएको छ । धनकुटास्थित टिन्स क्रिउ डान्स सेन्टर एन्ड रिक्रिएसन मल्टिमिडिया एन्ड इन्टरटेनमेन्टको आयोजनामा साउन १६ गतेदेखि राष्ट्रियस्तरको ‘नेसनल गट ट्यालेन्ट– २०८३’ तथा ‘मिस धनकुटा– २०८३’ हुने भएको हो ।
विगतका वर्षहरूमा सफलतापूर्वक सम्पन्न भएका पूर्वाञ्चल गट ट्यालेन्टका सात संस्करणपछि यस वर्ष प्रतियोगितालाई राष्ट्रिय स्तरमा विस्तार गरिएको कार्यक्रम संयोजक सुमन योगीले बताए । कला, संस्कृति तथा लुकेर रहेका प्रतिभाको खोजी र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको उनले बताए ।
प्रतियोगिताको विजेताले पाँच लाख नगद, पाँच लाखबराबरको जीवन बिमाको पहिलो प्रिमियम, म्युजिक रेकर्डिङ, गिफ्ट ह्याम्पर, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। दोस्रो हुनेले एक लाख तथा तेस्रो हुनेले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त आयोजकले जनाएको छ। प्रतियोगितामा गायन र नृत्य विधामा प्रतिस्पर्धा हुनेछ। उमेर समूहअन्तर्गत १३ वर्षमुनिका (जुनियर) र १४ वर्षमाथिका (सिनियर) गरी दुई समूहमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।
अडिसन काठमाडौं, पोखरा, बुटवल, धरान, इटहरी, विराटचोक (मोरङ), दमक, बिर्तामोड, इलाम, फिक्कल, धनकुटा, भोजपुर, तेह्रथुम, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, संखुवासभा, सिन्धुली, ताप्लेजुङ, पाँचथर र भारतको सिक्किमलगायतका स्थानमा सञ्चालन गरिनेछ । नृत्यतर्फ युसिन यस्माली मगर, सुशान्त लिम्बू, दीपेश मगर र सुष्मा क्षेत्री निर्णायक रहनेछन् भने गायनतर्फ जुनी खालिङ राई, दिनेश भारती, महेश राई र नवीन गजमेर निर्णायकको भूमिकामा रहने कार्यक्रम संयोजक योगीले बताए ।
यसैबिच धनकुटामा युवतीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आगामी २०८३ असोज ३ गतेदेखि ‘मिस धनकुटा– २०८३’ आयोजना हुने भएको छ । टिन्स क्रिउ डान्स सेन्टर एन्ड रिक्रिएसन मल्टिमिडिया एन्ड इन्टरटेनमेन्ट धनकुटाको आयोजनामा हुने प्रतियोगिता सौन्दर्यमा आधारित नभई सहभागी युवतीहरूको व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, बौद्धिक विकास, सार्वजनिक वक्तृत्वकला, सामाजिक उत्तरदायित्व तथा सिर्जनशीलताको मूल्यांकनको आधारमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन १६ वर्षदेखि २७ वर्ष उमेर समूहका कम्तीमा ५ फिट २ इन्च उचाइ भएका, नेपाली नागरिकता प्राप्त तथा न्यूनतम एसइई वा सोभन्दा माथिको शैक्षिक योग्यता भएका युवतीहरूले सहभागी हुन पाउने जनाएको छ ।
प्रतियोगिताको विजेताले एक लाख नगद, क्राउन, म्युजिक भिडियोमा अवसर, गिफ्ट ह्याम्पर, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २० हजार नगदसहित क्राउन, मेडल, प्रमाणपत्र तथा अन्य आकर्षक उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ ।