मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ श्रावण १५ शुक्रबार १५:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रेडक्रसमा हरेक तीन कार्यकालमध्ये एक कार्यकाल महिला मात्र अध्यक्ष उठ्न पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १५:o९:oo

नेपाल रेडक्रस सोसाइटीको संशोधित विधानले तीन कार्यकालमध्ये एक कार्यकाल महिला मात्र उठ्न पाउने गरी विधान संशोधन गरेको छ । विधान कार्यान्वयनमा आएसँगै संघीय समितिमा तेस्रो कार्यकालमा महिलाले मात्र अध्यक्षको उम्मेदवार हुन पाउने व्यवस्था राखिएको छ ।

प्रदेश र पालिकाहरूमा अबको निर्वाचनबाटै महिलालाई अध्यक्ष बनाउने गरी विधानको कार्यान्वयन हुन लागेको हो । प्रदेशको नामको वर्णानुक्रमअनुसार यसै वर्षबाट चारवटा प्रदेशमा महिला उम्मेदवार हुनेछन् भने अन्य तीन प्रदेशमा खुला प्रतिस्पर्धा हुनेछ । पालिकाको हकमा जिल्लाका ५० प्रतिशतमा पालिकामा पहिलो वर्णानुक्रमअनुसारका महिलाले मात्र उम्मेदवारी दिन पाउने र अन्यमा खुला प्रतिस्पर्धा हुने गरी विधान बनाइएको छ ।

रेडक्रसको विधानले हरेक संरचनामा ३३ प्रतिशत महिला सुनिश्चित गरिएको छ । नेपाल रेडक्रसको इतिहासमा अहिले पनि पालिका, जिल्ला, प्रदेश र संघीय संरचनाको नेतृत्वमा महिलाहरूको संख्या नगन्य मात्र रहेकाले यो व्यवस्था राखिएको रेडक्रस अध्यक्ष डा. विशालकुमार भण्डारीले बताए ।

भण्डारीले भने, ‘नेपाल रेडक्रसको विधान सामाजिक रूपान्तरण एवं महिला सहभागिताको हिसाबले यो विधान ऐतिहासिक छ। गाउँगाउँमा महिला दिदीबहिनीको संख्या ठुलो छ । मानवीय सेवामा महिलालाई समाहित गर्ने उद्देश्यले नयाँ ढंगले विधान बनाइएको हो । रेडक्रस अभियानमा लाग्ने महिलाहरूले अब रेडक्रसको नेतृत्व गर्ने अवसर सिर्जना भएको छ।’

विधानले पालिका, प्रदेश र केन्द्रको उपाध्यक्षमा महिला मात्र उठ्न पाउने पुरानो प्रावधानलाई यथावत् राखेको छ । यस्तै हरेक संरचनामा युवा महिलाको सहभागिता पनि सुनिश्चित गरेको जनाइएको छ ।