दाङ जिल्ला अदालतले ६ वर्षीया बालिकामाथि बाल यौन दुरुपयोग गरेको ठहर गर्दै सशस्त्र प्रहरीका एक जवानलाई कैद र जरिवानाको फैसला सुनाएको छ।
बिहीबार सार्वजनिक जिल्ला अदालतको फैसलाअनुसार रोल्पा नगरपालिका– १० घर भई सशस्त्र प्रहरी बल ज्वालामाई गणमा कार्यरत भरत रोकामगरलाई एक वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको हो। साथै, पीडित बालिकालाई पुगेको मानसिक तथा शारीरिक क्षतिको बदलामा प्रतिवादीबाट २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको छ।
घटना राप्ती गाउँपालिका– १, पाखापानीस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २९ ज्वालामाई गणको उत्तरतर्फ रहेको रामजहधी वनको केराघारीमा घटेको थियो।
के थियो घटना ?
घटना २०८१ असोज २४ गते बडादसैँको फूलपातीका दिन बिहानको समयमा भएको थियो। सशस्त्र प्रहरी गणले दशैंको अवसरमा बाहिर चौरमा हालेको लिंगेपिङमा ६ वर्षीया बालिका र उनका साथीहरू खेलिरहेका थिए। पिङ खेलिरहेका बालिकाहरूलाई सशस्त्र प्रहरीका जवानहरू भरत रोकामगर र रेवन पचभैयामगरले ललाइफकाई याैन दुरुपयाेग गरेका थिए।
प्रतिवादी भरत रोकामगरले ६ वर्षीया बालिकालाई केराघारीमा लगेर मुख थुनी अस्वाभाविक यौनजन्य क्रियाकलाप गरेको बयानमा उल्लेख छ। जबर्जस्ती करणीको अभियोगमा दर्ता गरिएकोमा स्वास्थ्य परीक्षण रिपोर्टमा कन्याजाली अक्षुण्ण देखिएको र करणी भएको ठोस प्रमाण नमिलेको भन्दै अदालतले बाल यौन दुरुपयोगको कसुर ठहर गरेको हो।
यस मुद्दाका अर्का आरोपी रेवन पचभैयामगरको भने अनुसन्धानकै क्रममा जिल्ला प्रहरी कार्यालयको हिरासतमा मृत्यु भइसकेको छ। ०८१ कात्तिक १२ गते हिरासत कक्षको शौचालयमा उनले आत्महत्या गरेका थिए। फौजदारी कानुनमा आरोपित व्यक्तिको मृत्यु भएमा निजविरुद्धको कारबाही अगाडि बढ्दैन। त्यसैले, अदालतले ०८३ जेठ २९ गते सुनाएको अन्तिम फैसलामा जीवित रहेका प्रतिवादी भरत रोकामगरलाई मात्र दोषी ठहर गर्दै सजाय सुनाएको हो।