धार्मिक–सामाजिक एकताका लागि विराटनगरमा सदभाव र्याली निकालिएको छ। जिल्ला प्रशासन, विभिन्न धार्मिक संघसंस्था, नागरिक समाज, राजनीतिक दल, उद्योगी–व्यापारीहरूको सहभागितामा सदभाव र्याली निकालिएको हो।
हिन्दु, इस्लाम, इसाई, किराँतलगायत सबै धर्म, राजनीतिक पार्टी, उद्योगी–व्यापारी र नागरिक समाजका अगुवाहरूसहित सयौँ मानिस र्यालीमा सहभागी छन्। विराटनगरको महेन्द्र चाेकबाट निस्किएको सदभाव र्याालीले विराटनगरको ट्राफिक चाेक, बुधहाट चाेक, जलजला मोड, गोल्छा मोड हुँदै डाँफे चाेकसम्म परिक्रमा गरेको छ।
सुनसरीको देवानगन्जको कप्तानगन्जमा १० साउनमा भएको दुई समुदायका युवाहरूबिच भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर दुईजनाको मृत्यु र सातजना घाइते भएको घटना धार्मिक साम्प्रदायिक विवादको रूपमा फैलन थालेपछि जिल्ला प्रशासन मोरङको पहलमा शुक्रबार सदभाव र्याली निकालिएको हो।
मोरङ प्रशासनले बिहीबार राखेको सर्वदलीय सर्वपक्षीय बैठकको निर्णयअनुसार शुक्रबार दिउँसो ३ बजे सामाजिक एकता र धार्मिक सदभाव कायम राख्नका लागि र्याली आयोजना गरिएको हो।