दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाइछिपाई राखिएका २१ थान अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विशेष सूचनाका आधारमा साउन १४ गते जिल्लाका विभिन्न प्रहरी इकाइबाट परिचालित टोलीले खोजतलासका क्रममा वन क्षेत्रमा लुकाइएका भरुवा बन्दुक फेला पारेका हुन्। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अस्थायी प्रहरी पोस्ट बेलुवाबाट खटिएको टोलीले तुलसीपुर उपमहानगरपालिका– ८ स्थित अश्वा सामुदायिक वनबाट एक थान एकनाले भरुवा बन्दुक र त्यसमा प्रयोग हुने चार थान फलामका छर्रा बरामद गरेको छ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय कमिरेचौरबाट परिचालित टोलीले बंगलाचुली गाउँपालिका– ३ स्थित जनचेतना सामुदायिक वनबाट चार थान तथा वडा नं. ६ को टोट्केलेखस्थित लालीगुराँस सामुदायिक वनबाट आठ थान भरुवा बन्दुक फेला पारेको छ। यस क्षेत्रबाट मात्रै १२ थान अवैध भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै, प्रहरी चौकी रामपुरबाट खटिएको टोलीले घोराही उपमहानगरपालिका– २ को च्याख्लीघाटस्थित राष्ट्रिय वनबाट आठ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ।
बरामद गरिएका २१ थान भरुवा बन्दुक र चार थान फलामका छर्राको स्रोत तथा त्यसमा संलग्न व्यक्तिको पहिचान गर्न अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।