मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
सेहेर मारनलो
२o८३ श्रावण १५ शुक्रबार ११:५४:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

इरानी महिलामाथिको अत्याचारप्रति पश्चिमा नारीवादी किन मौन ?

Read Time : > 2 मिनेट
सेहेर मारनलो
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार ११:५४:oo
  • राज्यविरुद्ध इरानी महिलाको विरोध प्रदर्शनलाई कुनै वेला उत्साहपूर्वक समर्थन गर्ने पश्चिमा नारीहरू अहिले तिनै महिलालाई इजरायली र अमेरिकी क्षेप्यास्त्रले निसाना बनाउँदा मौन छन्

नारीवादी ध्यान तटस्थ छैन । यसलाई आकार दिइएको छ, निर्देशित गरिएको छ र असमान रूपमा मोडिएको छ । सन् २०२२–२०२३ मा पश्चिमी नारीवादी संस्थाले इरानमा भएको विरोध प्रदर्शनको समर्थन गरे, अनिवार्य हिजाबविरुद्ध महिलाको प्रतिरोधलाई परिभाषित नारीवादी संघर्षको रूपमा अर्थ्याए । आज, युद्धले महिला र बालिकाको अकालमा मृत्यु भइरहेको छ र शिक्षामा उनीहरूको पहुँच रोकिएको छ । तर, अहिले त्यही पश्चिमा आवाज मौन छ । यो भिन्नता आकस्मिक होइन । यसले छनोटात्मक ऐक्यबद्धताको गहिरो तर्कलाई उजागर गर्छ, जसले कुन प्रकारका लैंगिक हिंसालाई मान्यता दिइन्छ र कुन विषयबारे मौनता साधिन्छ भन्ने दर्साउँछ । म यो लेख एक इरानी महिला र कानुन, समाज र लिंगको विषयमा काम गर्ने शिक्षाविद्को रूपमा लेख्दै छु ।

अमेरिकी हमलामा सयौँ महिला र बालबालिकाको मृत्यु भयो । तीमध्ये मिनाबस्थित बालिका विद्यालयमा भएको क्षेप्यास्त्र आक्रमणका पीडित पनि समावेश छन्, जहाँ १६५ भन्दा बढी बालबालिका (अधिकांश साना केटीहरू थिए) ले आफ्नो ज्यान गुमाए । यी संयोगले मारिएका थिएनन् । तिनीहरू कक्षाकोठामा बसिरहेका, सिकिरहेका बालबालिका थिए । तिनीहरूका डेस्क, बेच्न, पुस्तक, आवाज र भविष्यका सबै निसाना तिनीहरूसँगै गाडिएका थिए । यो हिंसाको मात्रा र दृश्यताका बाबजुद यसले सन् २०२२ मा हामीले देखेकोजस्तो नारीवादी आक्रोश उत्पन्न गरेको छैन ।

जब इरानी महिलाले आफ्नो टाउकोको स्कार्फ हटाए, तिनीहरूका तस्बिर विश्वव्यापी रूपमा प्रसारित भए, शैक्षिक संस्था, कार्यकर्ता सञ्जाल र मिडिया प्लेटफर्ममा हप्तौँसम्म प्रवर्द्धन गरियो । यस वर्ष अमेरिकी र इजरायली क्षेप्यास्त्रले क्षतविक्षत् पारिएका सयौँ महिला, केटीहरू र बालबालिकाको त्यो दृश्यलाई पश्चिमा नारीवादले कहिल्यै देखेन न त महŒव नै दियो । यदि कक्षाकोठामा केटीहरूको हत्या नारीवादी मुद्दा होइन भने के हो ?

युद्ध कहिल्यै पनि लैंगिक रूपमा तटस्थ देखिएको छैन । महिला र बालबालिका आकस्मिक पीडित होइनन, तिनीहरू युद्धको प्रमुख निसाना बन्छन् । मिनाबमा जे भयो, त्यो ढाँचाभन्दा बाहिरको होइन । त्यो विद्यालयको विनाश केवल मानवीय संकट मात्र होइन, यो नारीवादी संकट हो । यो एक पुस्ताको मेटाउने काम हो । 
तैपनि, यहाँ मूलधारका नारीवादी अभियन्ताको सीमा देखिन थाल्छ । एकपटक हिजाबको प्रतिरोध गर्ने इरानी केटीहरूको तस्बिर प्रवर्द्धन गर्ने उही अभियन्ताको सञ्जालले अहिले महिला र बालबालिकाको हत्यामा धेरै हदसम्म मौन छन् । यो परिवर्तन आकस्मिक होइन । यसले नारीवादी मान्यता प्रदान गर्ने र फिर्ता लिने सर्त प्रकट गर्छ ।

रातदिन आमाहरू मिनाबको चिहानमा आउँछन्, आफ्ना छोरीहरूले बोकेका साना सामान बोकेर बिहानसम्म हालै खनेका चिहानहरूको छेउमा बस्छन् । यो निजी दुःख होइन, बरु युद्धको जीवन्त परिणाम हो र अझै पनि यसलाई मौनता देखिन्छ । यस्ता दृश्य यसअघिका विरोधका तस्बिरजस्तै प्रसारित हुँदैनन् । तिनीहरूलाई हेर्ने पश्चिमा लेन्स फरक छ । सन् २०२२ मा नारीवादीको नजरमा इरानी महिलाका शरीर पितृसत्तात्मक सत्ताको प्रतिरोधको प्रतीक थिए । २०२६ मा तिनिहरूको शरीर युद्धका स्थल हुन्, तर अहिले विश्वव्यापी नारीवादी चासोको विषय छैनन् । यस सन्दर्भमा मौनता आफैँमा एक प्रतिक्रिया हो । यो त्यो संयन्त्रको अंश हो, जसले यो हिंसालाई निरन्तरता दिन अनुमति दिन्छ । नारीवादी विद्वत्ताले लामो समयदेखि चेतावनी दिँदै आएको छ कि सामूहिक हिंसाको सामना गर्दा मौनता कहिल्यै तटस्थ हुँदैन ।

नारीवादी प्रतिक्रिया भूराजनीतिक अपेक्षा, स्वीकार्यताको औपनिवेशिक मापदण्ड र व्यावसायिक मूल्य नचुकाई सार्वजनिक रूपमा चुनौती दिन सकिने कुराको सीमाद्वारा आकारित हुन्छन् ।

यस सन्दर्भमा २०२२ मा भएका घटनाक्रमको भिन्नतालाई बेवास्ता गर्न मिल्दैन । त्यतिवेला महिला, जीवन र स्वतन्त्रताको पक्षमा भएका प्रदर्शनका क्रममा पश्चिमी नारीवादी संस्था, शिक्षाविद्हरू र मिडिया प्लेटफर्म स्पष्टताका साथ परिचालित भए । सरकारले कार्यान्वयनमा ल्याएको अनिवार्य हिजाबविरुद्ध इरानी महिलाले गरेको प्रतिरोधलाई विश्वव्यापी नारीवादी संघर्षको रूपमा प्रस्तुत गर्दै पश्चिमाले प्रदर्शनप्रति ऐक्यबद्धता जनाए ।

जब हिंसालाई इस्लामिक उत्पीडन वा परम्पराको रूपमा प्रस्तुत गरिन्छ, तब पश्चिमी नारीवाद परिचालन हुन्छ, तर जब हिंसा पश्चिमा समर्थित शक्तिद्वारा उत्पादन गरिन्छ तब उनीहरू पछि हट्छन् । साम्राज्यवादी हिंसा र अधिनायकवादी शासन दुवैको विरोध गर्नु पूर्ण रूपमा सम्भव र आवश्यक छ । विरोध नगर्दा बढी सिद्धान्तनिष्ठ नारीवाद उत्पादन हुँदैन । यसले साँघुरो नारीवाद उत्पादन गर्छ ।

(मारनलो इरानी कानुनविद् र लन्डन विश्वविद्यालयकी अध्यापक हुन्)

अलजजिराबाट