धनुषाको सबैला नगरपालिका– १२, नहरचोकस्थित मन्दिरपरिसरमा मृत अवस्थामा फेलापरेका व्यक्ति उक्त मन्दिरका पुजारी नभई घुमन्ते प्रकृतिका व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मृतक करिब ४० वर्षीय बन्ठु राउत रहेको र उनी कडेरी मन्दिरका पुजारी नभएको स्पष्ट पारेको हो।
प्रहरीका अनुसार घटनास्थलमा कुकुरसहितको अनुसन्धान टोली परिचालन गरी आवश्यक अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानबाट मृतक बाहिर कामकाज गर्ने र रातको समयमा मन्दिरमा आएर सुत्ने गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनालाई प्रारम्भिक रूपमा आपराधिक घटना भएको देखिएको उल्लेख गर्दै यसलाई धार्मिक विवादसँग नजोड्न र सामाजिक सदभाव तथा शान्ति कायम राख्न सबै नागरिकसँग अपिल गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले घटनामा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले अनुसन्धान जारी रहेको र घटनाका सबै पक्षमाथि सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिएका छन्।