मुक्तिनाथ विकास बैंक लिमिटेड र नागार्जुन नगरपालिकाबिच सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ । कृषि, पर्यटन, साना तथा मझौला उद्यम र महिला उद्यमशीलताको प्रवर्द्धन गर्दै स्थानीयस्तरमा रोजगारी सिर्जना तथा आर्थिक गतिविधि अभिवृद्धि गर्ने उद्देश्यले सम्झौता गरिएको बताइएको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट कृषि तथा समावेशी लगानी विभाग प्रमुख तेजबहादुर गिरी तथा नागार्जुन नगरपालिकाका तर्फबाट कार्यवाहक नगर प्रमुख सुशीला अधिकारीले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा योग्य उद्यमीले व्यवसायको प्रकृतिअनुसार बैंकबाट धितोविना अधिकतम दुई लाखसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । साथै, नगरपालिकाको कार्यविधिबमोजिम योग्य ऋणीहरूले शतप्रतिशत ब्याज अनुदान सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ । स्थानीय सरकारसँगको सहकार्यमार्फत उद्यमशीलता विकास, वित्तीय पहुँच विस्तार, वित्तीय समावेशीकरण तथा दिगो आर्थिक विकासमा योगदान पुर्याउने बैंकको उद्देश्य रहेको छ ।