मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
२o८३ श्रावण १५ शुक्रबार १o:५७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

रसुवागढीमा पक्की पुल निर्माण गर्न चीनलाई नेपालको सहमति, दुई वर्षमा तयार हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १o:५७:oo

एक वर्षअघि बाढीले बगाएको रसुवागढीस्थित भोटेकोशीको सहायक नदी ल्हेन्दे खोलाको नेपाल–चीन मितेरी पुल चीन सरकारले दुई वर्षमा निर्माण गर्ने भएको छ । नेपालले पुल निर्माणका लागि औपचारिक सहमति दिएसँगै चीनले पुल निर्माणका लागि आवश्यक प्रक्रिया थालेको जानकारी नेपाललाई दिएको छ । गत वर्ष २४ असारको बाढीले मितेरी पुल बगाएपछि चीनले जडान गरेको बेलिब्रिजबाट दुई देशबिच आवतजावत भइरहेको छ । रसुवागढीमा पुल निर्माणका लागि डिजाइनलगायत सबै काम चीनले अघि बढाउनेछ । 

ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले पुल निर्माणको प्रक्रिया सुरु भएको जानकारी महावाणिज्य दूतावासलाई प्राप्त भएको बताए । ‘चीनले पक्की पुल निर्माणका लागि प्रस्ताव पठाएको थियो, नेपाल सरकारका तर्फबाट सहमति दिइएको छ । नेपालले प्रदान गरेको सहमतिको औपचारिक जानकारी चीनको तिब्बत (सिजाङ) स्वायत्त क्षेत्रका अधिकारीलाई हस्तान्तरण भइसकेको छ,’ उनले भने ।

बाढीपछि चीनले नेपाल–चीन सीमामा जडान गरेको बेलिब्रिजसँगै गत १७ पुसदेखि नेपाल र चीनबिच यात्रु तथा मालसामान बोकेका गाडीहरूको आवतजावत सुचारु भएको थियो । ‘बेलिब्रिजको आयु तीन वर्षको हुने रहेछ । चिनियाँ पक्षले अब दुई वर्षमा पक्की पुल तयार हुने जानकारी दिएको छ,’ निरौलाले भने ।

रसुवागढीमा गत वर्ष नाका अवरोध भएपछि मुस्ताङको कोरला नाका सुचारु भएको थियो । हाल पनि उक्त नाका सञ्चालनमा छ । अहिले बर्खा मौसमका कारण पहिरोलगायतका कारण नेपाल र चीनबिचका अन्तर्राष्ट्रिय नाका तातोपानी, रसुवागढी, हिल्सा पूर्ण रूपमा भने सुचारु हुने छैनन् ।