
सूचना प्रविधिको क्षेत्रमा लैंगिक विविधता अभिवृद्धिमा जोड दिँदै एडब्लुएस वुमन समिट नेपाल २०२५ सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा एडब्लुएस युजर ग्रुप वुमन इन टेक नेपालले काठमाडौं मोडल कलेजमा आयोजना गरेको सम्मेलनमा क्लाउड प्रविधिमा महिलाहरुको सहभागिता बढाउँदै डिजिटल युगमा समावेशिता र नवीनता प्रवर्द्धनमा जोड दिइयो।
त्यस अवसरमा बोल्ने अधिकांशले सूचना तथा प्रविधिको क्षेत्रमा महिलाको पहिचान, अवसर र नेतृत्व बढाउनुपर्नेमा जोड दिए। सम्मेलनमा क्लाउड प्रविधिमा नवीनतम प्रयोग, व्यावसायिक अवसर र समावेशीकरणका विषयमा बृहत् छलफल भएको थियो। सम्मेलनमा देश तथा विदेशका प्रविधि विज्ञ, क्लाउड विशेषज्ञ, उद्यमी तथा विद्यार्थीको उपस्थिति थियो।
सम्मेलनमा एडब्लुएस एसिया प्रशान्त तथा जापान क्षेत्रका डेभलपर रिलेसन प्रमुख मौना निलाकण्ठाले क्लाउड प्रविधिको बढ्दो प्रभाव, नवीनता र समावेशीको महत्व र आवश्यकताका विषयमा चर्चा गरिन्। उनले प्रविधिमा महिलाको उपस्थितिलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याइन्।
‘नेपालमा ब्लकचेन स्टार्टअपमा महिलाहरू’ विषयक सत्रमा रुमी सिंहले आफ्नो अनुभव राख्दै यस क्षेत्रमा महिलाहरूको सहभागिता बढाउनुपर्नेमा जोड दिइन्। साथै, रुचि पाण्डेले प्रविधिको क्षेत्रमा करिअर निर्माण र स्टार्टअपमा सफलताका लागि पिआर र व्यक्तिगत ब्रान्डिङको महत्व र आवश्यकताबारे चर्चा गरिन्। सम्मेलनमा ‘क्लाउड युगमा विविधता, समानता र समावेशिता प्रवर्द्धन’ शीर्षकको समूहगत छलफलका क्रममा प्रविधिको क्षेत्रमा महिलाका लागि अवसरका विषयमा गहन छलफल भएको थियो।
साथै, क्लाउडका नवीनतम प्रविधि, व्यावसायिक अवसर र प्रविधि क्षेत्रमा समावेशीकरणलाई बढावा दिने गरी विभिन्न विषयमा कार्यशाला आयोजनासमेत गरिएको थियो। बुस्ट प्रडक्टिभिटी एन्ड ह्याप्पिनेस विथ एडब्लुएस जेनएआई शीर्षकको कार्यशालामा एडब्लुएस जेनेरेटिभ एआईले कसरी कार्यालयको क्षमता बढाउन सहयोग गर्छ भन्ने विषयमा चर्चा गरियो। साथै एडब्लुएस क्लाउडः बिल्ड एनिथिङ, स्केल एभ्रिवेयर, इनोभेट फास्टर शीर्षकको कार्यशालामा स्टार्टअप, व्यापार र डेभलपरको क्षेत्रमा एडब्लुएसले कसरी असीमित अवसर सिर्जना गरिरहेको छ भन्ने विषयमा छलफल गरियो। साथै, स्केलिङ युजर, स्किल्सः एडब्लुएस क्लाउड एज अ प्लेटफर्म फर कन्टिनियस लर्निङ शीर्षकको कार्यशालामा एडब्लुएस प्रमाणपत्र र स्रोतको उपयोग गर्दै करिअर निर्माण गर्न सकिनेमा जोड दिइयो।
त्यस अवसरमा वक्ताहरू दीपक धोबी, आरके दाहाल, देवी भट्टराई, गंगा सुब्बा, सदीक्षा दाहाल, मुना भट्टराई र निखिल केसीले क्लाउड समाधान, प्रविधि शिक्षा र करिअरको विकासबारे चर्चा गरे। विशेष गरी निखिल केसीको एडब्लुएस क्लाउड कप्तान कसरी बन्ने? विषयक सत्र प्रभावशाली रह्यो।
एडब्लुएस क्लाउड प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेका व्यक्तित्वलाई मौना निलकन्ठाले सम्मानस्वरूप मायाको चिनो प्रदान गरिन्। साथै, उक्त अवसरमा विभिन्न सांगीतिक प्रस्तुति, अन्तर्क्रियात्मक खेलसमेत आयोजना गरिएको थियो। सहभागीहरूले एकापसमा विचार आदानप्रदानका साथै भविष्यमा हुन सक्ने सम्भावित सहकार्यबारे छलफल गरे।
सम्मेलनका आयोजक तथा एडब्लुएस वुमन इन टेक नेपालकी वर्षा भण्डारीले सम्मेलन प्रविधि शिक्षा र अवसरमा मात्रै केन्द्रित नभई समावेशी प्रविधि समुदाय निर्माण गर्न महत्त्वपूर्ण अवसर भएको बताइन्।
सम्मेलन सम्पन्न गर्न एडेक्स इन्टरनेसनल, काठमाडौं मोडल कलेज, एमआइटी, एनएएस–आइटी, आइडिया स्टुडियो नेपाल, एडब्लु युजर ग्रुप नेपाल–मध्यपश्चिम क्षेत्र, एडब्लुएस क्लाउड क्लब नेपाल, डेभअप्स काठमाडौं र बी नेपालले सहयोग गरेका थिए।