मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २६ सोमबार
  • Monday, 10 March, 2025
२o८१ फाल्गुण २६ सोमबार १८:१३:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मेचीनगर गोल्डकप : ब्ल्याक बुल्सलाई हराउँदै धरान सेमिफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २६ सोमबार १८:१३:oo

उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई पेनाल्टी सुटआउटमा ५–३ ले  हराउँदै धरान एफसी मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार काँकरभिट्टा खेल मैदानमा निर्धारित समयको खेल १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा पुग्यो।

लगातार दोस्रो दिन मेचीनगर गोल्डकपको नतिजा पेनाल्टी सुटआउटमा निस्केको हो। आइतबार चर्च ब्वाइज युनाइटेडले झापा एफसीलाई सडनडेथमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।

पेनाल्टी सुटआउटमा धरानका वैकल्पिक गोलकिपर बिपुर मगर नायक बने। पहिलो प्रहार गर्न आएका उज्वेकिस्तानका असिवेक अरिफजोनोभको प्रहार विपुलले रोकेका थिए। प्रशिक्षक हेमकुमार गुरुङले प्रविन लिम्बूको स्थानमा विपुललाई मैदान पठाएका थिए।

धरानको लागि मिलन राई, सुरज रसाइली, प्रज्वल थापा, अजय विष्ट र सुगम जिमीसहित पाँचै खेलाडी सफल भए। ब्ल्याक बुल्सको लागि खुसान गानिजानोभ, अजिजबेक खुर्सिनबोभ र कुभेनच्बेक ओलिमोभले गोल गरेका थिए।

अब धरानले फाइनल प्रवेशका लागि आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग फागुन २४ मा प्रतिस्पर्धा गर्नेछ। काँकरभिट्टाले भारतीय टोली जर्जियन एफसीलाई ४–२ ले हराउँदै सेमिफाइनलमा स्थान बनाइसकेको छ।

यसअघि ब्ल्याक बुल्स एफसीको लागि ५९औं मिनेटमा असिबेक अरिफजोनोभले गोल गरेका थिए। १८ यार्ड बक्सभित्रबाट इस्लोम्जोन अब्दुकोडिरोभले मिलाएको बललाई सिक्स यार्ड बक्समा अनमार्क रहेका असिबेकले हेडर गोल गर्दै अग्रता दिलाएका हुन्।

खेलको ८३औं मिनेटमा धरानले बराबरी गोल गर्यो। सुगम जिमीले गोल गरेका हुन्। सुरज रसाइलीले मैदानको बायाँ भागबाट मिलाएको पासलाई वैकल्पिक खेलाडी सुगमले सदुपयोग गर्दै टोलीको हार टारेका थिए।

खेलभर मिलन राईको कप्तानीमा रहेको धरानले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन। टोलीमा मिलानसहित विक्रम धिमाल, तपन कार्की, रोमन लिम्बू, मौसम सुब्बा जस्ता खेलाडी समावेश थिए।

आहा रारा गोल्डकप विजेता ब्ल्याक बुल्सले टिममा नेपालका सान्जियो लिम्बू, सुजात डंगोल र सामिप्य सुवेदीलाई समावेश गरेको थियो। केपी ओली कपको पहिलो खेलमै पराजित भएपछि टोलीले मेचीनगर गोल्डकप खेलेको हो।

मंगलबार हुने खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबबिच प्रतिस्पर्धा हुनेछ। आठ टिम सहभागी प्रतियोगिताको पाँचौँ संस्करणको विजेताले १० लाख र उपविजेता टिमले ५ लाख रुपैयाँ पाउनेछन्।