
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पछिल्लो ६ दिनदेखि लगातार गिरावट देखिएको छ । गत हप्ता सोमबारबाट घट्न थालेको नेप्से परिसूचक आज पनि ओरालो देखिएको हो ।
आज २०.६८ अंकको गिरावटपछि नेप्से परिसूचक दुई हजार ७५१.४२ को विन्दुमा कायम भएको छ । ३११ कम्पनीको एक करोड ५० लाख ९४ हजार ९१५ कित्ता सेयर ८७ हजार १५६ पटक खरिद–बिक्री हुँदा रु. आठ अर्ब ३७ करोड ८० लाख ५५ हजारबराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा अन्य समूह ०.०८ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको अवस्था छ । सबैभन्दा धेरै ‘म्युचुअल फन्ड’ ३.०६, व्यापार १.६५, उत्पादन तथा प्रशोधन १.१५, जलविद्युत् १.१६ र लगानी १.५१ प्रतिशतले घटेको छ ।
त्यस्तै, बैंकिङ ०.४४, विकास बैंक ०.७३, वित्त ०.७०, होटेल तथा पर्यटन ०.९९, जीवन बिमा ०.४१, लघुवित्त ०.६३ र निर्जीवन बिमा समूह ०.६८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल ‘रिइन्स्योरेन्स कम्पनी लिमिटेड’को रु. ७३ करोड ५० लाख ९० हजारबराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै ‘घलेम्दी हाइड्रो लिमिटेड’को ११ लाख ६३ हजार ८५५ कित्ता सेयर किनबेच भएको छ ।