मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २६ सोमबार
  • Monday, 10 March, 2025
२o८१ फाल्गुण २६ सोमबार १८:५८:oo
Read Time : < 1 मिनेट
अर्थ

जग्गा ओगटेर उद्योग सञ्चालन नगर्ने तीन उद्योगसँगको सम्झौता रद्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २६ सोमबार १८:५८:oo

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडाले उद्योग सञ्चालन नगरी जग्गा मात्रै ओगट्ने बस्ने तीनवटा उद्योगसँगको सम्झौता रद्द गरेको छ। उद्योग सञ्चालन गर्ने भन्दै हेटौँडा औद्योगिक क्षेत्रभित्रको जग्गा सम्झौता गरेर संरचना निर्माण गरे पनि उद्योग सञ्चालन नगरेपछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडाले ती उद्योगहरूसँगको सम्झौता रद्द गरेको हो।

यसरी सम्झौता रद्द गरिएका उद्योगहरूमा नाथ फुड्स इन्डस्ट्रिज, लक्ष्मी पेन्ट्स र सनराइज कन्टेनर प्रा.लि. रहेका छन् । उनीहरूले उद्योग सञ्चालन गर्ने भन्दै लामो समयदेखि जग्गा भाडामा लिए पनि सम्झौताअनुसार काम नगरेपछि सम्झौता रद्द गरेको कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले जानकारी दिए ।

उनका अनुसार ती उद्योगहरूले ०७२ र ०७३ सालमा उद्योग स्थापना गर्न भन्दै जग्गा भाडा लिएका थिए। ती उद्योगहरूसँग भएको सम्झौता यसअघि नै गत २७ माघमा बसेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिको बैठकले रद्द गर्ने निर्णय गरेको थियो। 

उद्योगहरूसँगको सझौता रद्द गर्ने निर्णय भएपछि तीनवटै उद्योगहरू अदालत पुगेका कारण सम्झौता रद्द प्रक्रिया केही लम्बिएको सूचना अधिकारी नेपालले बताए । अदालतले औद्योगिक क्षेत्रको पक्षमा निर्णय गरेसँगै ती उद्योग सञ्चालनका लागि भन्दै बनेका संरचनाहरूको लिलामी प्रक्रियासमेत अगाडि बढाइएको छ। यस्तै, उक्त स्थानमा नयाँ उद्योग स्थापनाका लागि प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए । 

सम्झौता रद्द गरिएका उद्योगहरूले उद्योग सञ्चालन गर्न हेटौँडा कपडा उद्योग र विस्तारित औद्योगिक क्षेत्रको जग्गा भाडाका लागि सम्झौता गरेका थिए । जसमा नाथ फुड्स इन्डस्ट्रिजले ७.७५ रोपनी, लक्ष्मी पेन्ट्सले ६.३४ रोपनी र सनराइज कन्टेनर प्रालिले १०.०३ रोपनी जग्गा भाडामा लिने गरी सम्झौता गरेको सूचना अधिकारी नेपालले जानकारी दिए । हाल हेटौँडा औद्योगिक क्षेत्रभित्र १२७ उद्योग रहेकामा ११५ वटा उद्योग मात्रै सञ्चालनमा रहेको उनले जानकारी दिए ।