
नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले संगठनको महाधिवेशनमा अब कुनै ढिलाइ नहुने दाबी गरेका छन्। उनले तरुण दलको निर्वाचन निर्धारित समयमै हुने भन्दै ढुक्क हुन आग्रह गरे।
सोमबार हेटौँडामा भएको तरुण दलको प्रारम्भिक र पूर्णकालीन सदस्यता वितरण कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले तरुण दलको पाँचौँ महाधिवेशन आगामी चैत मसान्तभित्रै गरिसक्ने स्पष्ट पारे। ‘अब तरुण दलको महाधिवेशन निर्धारित समयमै हुन्छ। पार्टीले दिएको समयसीमा आगामी चैत मसान्त हो। उक्त समयभित्रै महाधिवेशन गर्ने गरी हामी लागिरहेका छौँ,’ उनले भने, ‘जिल्लाका साथीहरूले पनि सोहीअनुसार तयारी थाल्नुस्।’
अध्यक्ष गुरुङले अब पनि महाधिवेशन हुन्न कि भन्ने दुविधामा नरहन आग्रह गरे। उनले मातृ पार्टी कांग्रेसलाई गतिशील र जनताको पार्टी बनाउन तरुण र युवाहरू लाग्नुपर्ने वेला आएको बताए। मुलुकमा भएका सबै परिवर्तनको नेतृत्वकर्ता पार्टी कांग्रेस र यसको नेतृत्वमाथि विभिन्न दल र समूहहरूले अनेकौँ बहानामा षड्यन्त्र गर्ने गरेको भन्दै उनले सतर्कतापूर्वक तीविरुद्ध भण्डाफोर अभियान चलाउनुपर्ने बताए। अध्यक्ष गुरुङले तरुण दलका नेता तथा कार्यकर्ताहरूलाई सधैँ सजग र तयारी अवस्थामा रहन निर्देशन पनि दिए।
उक्त अवसरमा कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामाले तरुण दलको महाधिवेशन समयमै होस् भन्ने आफूहरूले चाहेको बताए। उनले जिल्लामा तरुणको गतिविधिलाई क्रियाशील बनाउन महाधिवेशन आवस्यक रहेको भन्दै पार्टीका तर्फबाट आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
केन्द्रीय अध्यक्ष गुरुङले केन्द्रको प्रारम्भिक र पूर्णकालीन फारम भरी जतिसक्दो चाँडो केन्द्रमा पठाउन निर्देशन दिँदै फारमहरू मकवानपुर जिल्लाका अधिवेशन संयोजक ईश्वर पाठकलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा तरुण दलका केन्द्रीय सदस्यहरू राजेश भेट्वाल, सुनील दाहाल, गोपी दाहाल, सरिन घिमिरेलगायतको उपस्थिति थियो।