
क्रिकेटमा भारतको रबैया विश्व व्यवस्थाको ट्रम्पशासित अमेरिकासँग मिल्दोजुल्दो छ
अघिल्लो साताको आइतबार बिहान ९:३० बजे इंग्ल्यान्डलाई पराजित गरेको भोलिपल्ट दक्षिण अफ्रिकी टोलीले कराची छोड्दै मध्याह्नमा दुबईका लागि उडान भर्यो र दिउँसो ३ बजे त्यहाँको होटेलमा पुग्यो । त्यसको १७ घण्टा नबित्दै ‘चेकआउट’ गरी स्थानीय समयअनुसार बिहान ११ बजे लाहोर पुग्यो । क्रिकेटमा हुने सामान्य यात्रा आफ्नो ठाउँमा छ, तर भारतको प्रभावका कारण अन्य टोलीलाई अत्यधिक झन्झटिलो यात्रा गर्न बाध्य बनाइएको छ । वास्तवमा सन् २०२५ को च्याम्पियन्स ट्रफी अत्यधिक थकाउने र अनावश्यक तालिकायुक्त थियो, जसलाई कुनै पनि अन्तर्राष्ट्रिय खेलकुदले स्विकार्न सक्दैन ।
आइसिसीले पाकिस्तानलाई तीन वर्षअघि आयोजक हुनयोग्य घोषणा गरे पनि भारतले पाकिस्तानमा खेल्न अस्वीकार गर्दै आएको छ । यसले क्रिकेटमा भारतको प्रभाव स्पष्ट रूपमा देखिन्छ । ‘पाखण्डी’ तालिका भनेर विश्वभरका क्रिकेटप्रेमीले आलोचना गरेको, तर औपचारिक रूपमा ‘हाइब्रिड’ भनिएको च्याम्पियन्स ट्रफीभरि भारत दुबईमै रह्यो । भारतको सेमिफाइनल प्रतिद्वन्द्वी पक्का नभएकाले दक्षिण अफ्रिका त्यसका लागि तयारी गर्न दुबई जान बाध्य भयो । भारतले न्युजिल्यान्डलाई हराएपछि दक्षिण अफ्रिकाले लाहोर फर्केर बुधबार न्युजिल्यान्डविरुद्ध खेल्नुपर्यो । यसलाई लिएर टिकाटिप्पणी र आलोचना भए, तर आजकाल क्रिकेटमा तर्कको महत्व देखिँदैन ।
भारतले क्रिकेटमा प्रभुत्व जमाएको छ, अर्थात् क्रिकेटमा भारतको रबैया विश्व व्यवस्थाको ट्रम्प शासित अमेरिकासँग मिल्दोजुल्दो छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले विश्व क्रिकेटका लागि कुल आम्दानीको ७५ देखि ८५ प्रतिशतसम्म योगदान गर्ने भएकाले अन्य मुलुकका क्रिकेट बोर्ड बिसिसिआईका हरेक कदमप्रति आभारी रहन बाध्य छन् । केही हदसम्म कृतज्ञ हुनु उचित भए पनि हरेक सर्त मान्नेस्तरको कृतज्ञताका कारण वास्तवमा भय र कायरता हो, किनभने भारतलाई असन्तुष्ट पार्नाले कस्तो परिणाम निम्तिन्छ, कसैलाई थाहा छैन । भारतको क्रिकेटमा बढ्दो प्रभुत्वले खेलतालिका र निर्णयलाई सम्भावित विवाद टार्ने हिसाबले ढालिएको छ । यो असन्तुलन यति गहिरो बनेको छ कि अब प्रश्नसमेत उठ्दैन ।
वास्तवमा भारतका लागि एक नियम अरूका भिन्न नियम लागू भएको देखिन्छ । सन् २०२१ मा आसन्न आइपिएलमा कोभिड जोखिम टार्न भारतले अन्तिम समयमा ओल्ड ट्र्याफोर्डमा हुने पाँचौँ टेस्ट एकतर्फी रूपमा रद्द गर्यो र यो अव्यवस्थाका लागि बिसिसिआईले क्षमा माग्नसमेत आवश्यक ठानेन । सन् २०२३ मा भारतले आइसिसीका स्वतन्त्र पिच निरीक्षक एन्डी एटकिन्सनको निर्णयलाई उल्ट्याउँदै मुम्बईमा न्युजिल्यान्डसँग आफूअनुकूल पिचलाई विश्वकप सेमिफाइनलका लागि प्रयोग गर्यो । यसबारे मैले गरेको ‘मेल स्पोर्ट’को ‘रिपोर्ट’लाई सहजै अनदेखा गरियो किनभने कि दुवै पक्षका लागि यसमा निष्क्रियता फाइदाजनक थियो । पहिलो आइसिसी, जसले आफ्नो नियन्त्रण गुमाइसकेको थियो, उसले यसलाई केही होइन भनेझैँ गर्यो र दोस्रो बिसिसिआईलाई केही फरक परेन किनभने मिडियाले भारतको आलोचना नगर्ने निर्णय गर्दै यसलाई बेवास्ता गर्यो । गत वर्ष भारतलाई पहिल्यै थाहा थियो कि उसले आफ्नो टी–२० विश्वकप सेमिफाइनल गयानामा खेल्नेछ । नतिजा विपक्षी समर्थकलाई खेलयात्राको योजना बनाउन कठिन बनायो र भारतलाई तयारी गर्न रणनीतिक फाइदा दियो । यसैबिच मेलबर्नको बक्सिङ डे टेस्टमा विराट कोहलीले किशोर अस्ट्रेलियाली खेलाडी स्याम कन्स्टासमाथि गरिएका अपमानजनक सोल्डर चार्ज (काँधको धक्का)का लागि जिम्बाब्वेका म्याच रेफरी एन्डी पाइकक्रोफ्टले २० प्रतिशत म्याच शुल्क जरिवानाको नाम मात्रको सजाय दिए, तर कोहलीले उल्टै कन्स्टासमाथि दोष लगाउने प्रयास गरे ।
यही जनवरीमा भारतीय म्याच रेफ्री जावागल श्रीनाथले इंग्ल्यान्डको टी–२० खेलमा ब्याट्सम्यान शिवम दुबेको स्थानमा तीव्र गतिका बलर हर्षित रानालाई कनकसन सब्स्टिच्युट (खेलका क्रममा खेलाडी घाइते हुँदा सो खेलाडीका सट्टा समान भूमिकाका खेलाडी खेलाउन पाउने) नियमअनुसार खेल्न अनुमति दिए । र, सो खेलमा हर्षितले तीन विकेट लिए । भारतको १५ रनको विजयमा निर्णायक भूमिका खेलेपछि भारतकै सामाजिक मिडियाका समर्थक पनि लज्जित भए । र, अहिले हामीले च्याम्पियन्स ट्रफीमा पनि यस्तै धाँधली र बदमासी देखिरहेका छौँ । यी घटनालाई अलग–अलग रूपमा हेर्ने हो भने यिनलाई एक अपवादका रूपमा अस्वीकृत गर्न सकिएला, तर सबैलाई एकै ठाउँमा ल्याउने हो भने यसले क्रिकेटमा भारतको बढ्दो प्रभुत्व र त्यसले उत्पन्न गरेको असमानता झल्काइरहेको छ ।
यस्तो किसिमको पक्षपात र विकृतिलाई इंगित गर्नु भारतका विशाल अनलाइन ट्रोलको समूह र प्रभावशाली टिप्पणीकारको गालीगलौज र तुच्छ टिप्पणी झेल्नु हो । यसैक्रममा इंग्ल्यान्डका पूर्वखेलाडीद्वय नासेर हुसैन र माइक एथर्टनले भारतका लागि मात्रै दुबईको एउटै स्टेडियममा खेल्ने सुविधा र अन्यलाई दुबई र पाकिस्तान दुवैमा खेल्नुपरेको भन्दै भारतले अवाञ्छित लाभ पाएको टिप्पणी गरे । जवाफमा यी खेलाडीको उपहास गर्दै सुनील गवास्करले ‘तिमीहरू आफ्ना खेलाडीको प्रदर्शनमा ध्यान देऊ भारतबारे कुरा नगर’ भन्ने जवाफ फर्काए । गवास्करको जवाफ स्पष्टतः अपमानजनक थियो, जसले एक जायज चासो र प्रश्नलाई कमजोर पार्यो । गवास्करजस्ता चर्चित भारतीय पूर्वखेलाडीको बयानको असर ठुलो छ किनभने यसले करोडौँ भारतीय समर्थकलाई उत्साहित बनाउँछ र यस्तो तुच्छ तर्कको सुनामीले भिन्न मतलाई दबाउँछ ।
गवास्करको तर्कलाई समर्थन गर्ने केहीले भारतले सन् २०२३ को विश्वकपको प्रत्येक समूह खेलमा नौ विभिन्न स्थानमा खेल्दा असुविधा भोग्यो भन्ने तर्क गरे, तर यिनले हरेक खेलमा घरेलु लाभ प्राप्त गरे भन्ने यथार्थलाई सम्झिएको देखिएन । भारतीय क्रिकेट अब्बल खेलाडी भएको टोली भए पनि यसैलाई प्रदर्शन गरेर अन्याय सिर्जना गरिन्छ भने विरोध जनाउनु औचित्यपूर्ण हुन जान्छ ।
(बुथ डेली मेलका खेल पत्रकार हुन्)
डेली मेलबाट