मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १३ मंगलबार
  • Tuesday, 25 February, 2025
लियोनिद रागोजिन
२o८१ फाल्गुण १३ मंगलबार o८:२५:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ट्रम्प होइनन् युक्रेनलाई धोका दिने

Read Time : > 3 मिनेट
लियोनिद रागोजिन
नयाँ पत्रिका
२o८१ फाल्गुण १३ मंगलबार o८:२५:oo

डोनाल्ड ट्रम्पले गत वर्ष चुनावी र्‍यालीमा आफूले चुनाव जितेमा कार्यकाल सम्हालेको २४ घण्टाभित्र युक्रेनमा युद्ध रोक्ने दाबी गरेका थिए । ट्रम्प यो वाचा पूरा गर्न असफल भए । तथापि, राष्ट्रपति पद सम्हालेको तीन हप्तापछि परिस्थिति छिटोछिटो यसै दिशातर्फ अग्रसर देखिन थालेको छ । फेब्रुअरी १२ मा, ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरे । फोनमा आफूहरूले युक्रेन–रुस युद्धमा ‘लाखौंको मृत्यु’ रोक्न मिलेर काम गर्ने सहमति जनाएको जानकारी दिँदै ट्रम्पले ‘ट्रुथ सोसल’ नामक समाजिक सञ्जालमा लेखे । त्यसपछि साउदी अरबमा दुई नेताबिचको सम्भावित शिखर सम्मेलनको घोषणा भयो ।

फेब्रुअरी १३ मा ब्रसेल्समा रहेको नेटो मुख्यालयमा बोल्ने क्रममा अमेरिकी रक्षामन्त्री पिट हेगसेथले युक्रेन युद्ध रोक्न अमेरिकी प्रस्तावको विवरण प्रस्तुत गरे । त्यहाँ उनले ट्रम्प सरकारले पूर्ववर्ती बाइडेनको अडानबाट युटर्न लिएको स्पष्ट गरे । वार्तामा युक्रेनले सन् २०१४ अघिको आफ्नो सम्पूर्ण भूमिमाथिको सार्वभौमिकता पुनस्र्थापित गर्ने आशा त्याग्नुपर्ने र उसको नेटो सदस्यतामा समेत बहस नहुने हेगसेथले बताए । योसँगै, ट्रम्प प्रशासनले ‘रणनीतिक साझेदारीका लागि अमेरिका–युक्रेन घोषणापत्र’लाई प्रभावकारी रूपमा खारेज गर्‍यो । त्यस घोषणापत्रले युक्रेनको क्षेत्रीय अखण्डता र सीमाको अभेद्यताप्रति प्रतिबद्धता जाहेर गरेको थियो । साथै, युक्रेनको युरो–एटलान्टिक संस्था (नेटो र युरोपेली संघ) सदस्यतालाई प्राथमिक नीतिका रूपमा पहिचान गरिएको थियो । 

ट्रम्प र हेगसेथको अभिव्यक्तिपछि केही पश्चिमी मिडियाहरूले ‘युक्रेनमाथि विश्वासघात’ भएको घोषणा गरे । निश्चित रूपमा, वासिङटनले किभलाई परित्याग गर्दै छ, तर यो कुनै आश्चर्यजनक विकासक्रम होइन । युक्रेनसँगको सम्बन्धमा अमेरिकाले जुन शैली लिएको थियो, त्यो एक न एक दिन परित्याग गर्नैपर्ने हुन्थ्यो । अहिले आएर ट्रम्पले यस सम्भावनालाई यथार्थमा मात्र बदलेका हुन्, जसका लागि उनी दोषी छैनन् । खासमा किभलाई धोका दिनेहरू ती हुन् जसले उसलाई नेटो र इयू सदस्यताको वाचा गरेर रुससँग लड्न उक्साए । सम्झौतामार्फत जित्न नसकिने युद्ध टार्न दिएनन् । पछिल्लो तीन वर्षमा, पश्चिमा देशले तेस्रो विश्वयुद्ध सुरु नगरी आपूर्ति गर्न सकिने अधिकतम परिमाणमा हतियार आपूर्ति गरे । त्यस्तै, उनीहरूले विश्व अर्थतन्त्रलाई नराम्ररी क्षति नपुर्‍याई कार्यान्वयन गर्न सकिने हदको आर्थिक प्रतिबन्ध लगाए । 

पश्चिमले युक्रेनप्रतिको महँगो समर्थनलाई जति लम्ब्याएपछि यो वास्तविकता बदलिनेछैन कि रुस युक्रेनभन्दा ठुलो र धनी छ, ऊ आधुनिक युद्ध लड्न सक्ने सेना भएको देश हो । यो कुरा पछिल्लो तीन वर्षमा उसलाई अत्याधुनिक पश्चिमी सैन्य प्रविधिको ठुलो सहयोगले पनि पराजित गर्न नसकेकै तथ्यले उजागर गरिसकेको छ । ठुलो आणविक शक्ति भएकाले उसको क्षेत्रमा भएको युद्धमा रुसको बोली सधैँ निर्णायक हुने थियो । खासमा रुसको विशाल आणविक शक्तिकै कारणले युक्रेन द्वन्द्वमा पश्चिम संलग्न हुन हचकिएको हो । 

ढिलो–चाँडो अमेरिकी सरकारले युक्रेनलाई दिँदै आएको महँगो समर्थन कटौती गर्नैपर्ने हुन्थ्यो । यो टिकाउ थिएन । बरु, ट्रम्पको रिपब्लिकन सरकारले समर्थनबाट पछि हटेर भविष्यमा यस्तो कठिन निर्णय गर्नबाट डेमोक्र्याटहरूलाई बचाइदिए । प्रारम्भिक असन्तुष्टिका बाबजुद, युक्रेनका युरोपेली सहयोगी पनि बिस्तारै युक्रेनी सदस्यताको विषयमा अमेरिकाकै लाइनमा उभिन सक्छ । यसको संकेत देखिइसकेको छ । फेब्रुअरी १४ मा, नेटो महासचिव मार्क रुटले रुससँगको शान्ति–सम्झौताअन्तर्गत युक्रेनलाई उनी नेतृत्वको गठबन्धनमा सामेल हुने ग्यारेन्टीको विषय कहिल्यै नउठेको बताए । जबकि यो टिप्पणी उनका पहिलेका कथनले काट्छ । धेरै टाढा जानुपर्दैन, डिसेम्बर २०२४ मा नेटो महासचिव नियुक्त भएपछि रुटले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए । त्यहाँ उनले युक्रेनको ‘नेटो सस्यताको मार्ग कसैगरी नरोकिने’ बताए । साथै, उनले अहिले युक्रेन ‘पहिलेभन्दा बढी नेटोको नजिक’ भएको पनि बताए । 

अहिले, युक्रेनको नेटो सदस्यताको सम्भावना अन्त्य भएको भए पनि ट्रम्प प्रशासनले युक्रेनलाई पूर्ण रूपमा बेवास्ता गरिरहेको देखिँदैन । पश्चिमी सुरक्षा ग्यारेन्टीका लागि युक्रेनी मागतर्फ संकेत गर्दै हेगसेथले युद्धविराम पालना तथा लागू गर्न युरोपेली र गैरयुरोपेली शान्तिसेना तैनाथ गर्ने सम्भावना उल्लेख गरे । तथापि, उनले युक्रेनमा अमेरिकी सेनाको तैनाथीलाई भने अस्वीकार गरे । साथै, अन्य नेटो देशबाट शान्ति सेनामाथि पनि नेटोको धारा ५ लागू गर्न नहुने बताए । यस धाराले गठबन्धनको कुनै एक सदस्यमाथिको आक्रमणविरुद्ध सबैले मिलेर प्रतिक्रिया दिनुपर्ने बताउँछ । 

यो प्रस्तावले मात्र युक्रेनीहरूलाई भविष्यमा आक्रमण नहुने कुराका लागि आश्वस्त पार्न गाह्रो हुनेछ । जेलेन्स्कीले बारम्बार भनेका छन् कि अमेरिकी संलग्नताविना पश्चिमी सुरक्षा ग्यारेन्टीको कुनै मूल्य हुनेछैन । तर, युक्रेनी भूमिमा नेटो सेनालाई राख्दा क्रेमलिनले यसलाई ऊविरुद्ध कदमका रूपमा हेर्ने सम्भावना छ । त्यसैले वार्ता गम्भीरतापूर्वक सुरु हुँदासम्म यो विचार अगाडि बढ्ने सम्भावना न्यून छ । गैरनेटो युरोपेली देशका सेनामा सम्भवतः मस्कोले विरोध नजनाउला । तर, अस्ट्रिया र सर्बियाजस्ता गैरनेटो युरोपेली राज्यहरूले केही हजार सेना मात्र आपूर्ति गर्न सक्छन् । त्यसकारण, बाँकी मुख्य दस्ता ‘ग्लोबल साउथ’बाट ल्याउनुपर्ने हुन्छ । यसो भनिए पनि, खासमा शान्तिसेनाको विषयलाई अतिरञ्जित रूपमा उचालिएको छ । खासमा युक्रेनमा स्थिर शान्तिको ग्यारेन्टी गर्ने एक मात्र तरिका छ । त्यो हो, युक्रेनको साँचो अर्थको असंलग्नता स्थापना गर्नु र रुस–पश्चिमबिचको सम्बन्ध सुधारलाई अगाडि बढाउनु हो । यसले कतै क्रेमलिनको जित त हुने होइन भन्ने प्रश्न उठाउँछ । निश्चित रूपमा यसले रुसको जितको संकेत गर्छ । तर, अब विकल्प नै के बाँकी छ र ? पश्चिमका युद्धपक्षधरहरूले युक्रेनलाई पुटिनको बुलडोजरसामु फ्याँकिसकेपछि अहिलेका लागि एक मात्र यथार्थपरक परिणाम देखिन्छ ।

एकसे एक पश्चिमी भविष्यवेत्ताले रुसी अर्थतन्त्र अहिले पतन हुन्छ भनिरहे । युद्धको दबाबमा पुटिनको शासन ढल्ने पनि तिनको भविष्यवाणी थियो । तर, यी भविष्यवाणी विपरीत, रुसी अर्थतन्त्रले अपेक्षाकृत् राम्रो प्रदर्शन गर्न सफल भएको छ । खासमा, युद्धका कारण बढेको रक्षा खर्चले त्यहाँको अर्थतन्त्रलाई टेवा पुर्‍याएको छ । युद्ध मुख्यतः युक्रेनी भूमिमा लडिएकाले रुसी जनसंख्या द्वन्द्वका विभीषिकाबाट पर आफ्नो आमजीवन बिताइरहेका छन् । पुटिनलाई युद्ध मैदानमा पराजित गर्न सकिँदैन । तर, यदि रुसी जनतालाई साथ लिएको भए उनलाई कमजोर बनाउन सकिने थियो । तर, पश्चिम र युक्रेनले पुटिनलाई मात्र होइन, सम्पूर्ण रुसीहरूविरुद्ध जातिवादी बयानबाजी र भेदभावपूर्ण नीति अंगीकार गरे । यसले कट्टर युक्रेनी समर्थक र पुटिनविरोधी रुसीसमेत पराई बनाइए । खासमा, युद्धविपासुहरू युक्रेन वा रुसको भलाइ होइन, जसरी पनि युद्ध चाहेजस्तो देखियो । 

युक्रेनसँग रहेका बाँकी विकल्प निराशाजनक छन् । यो कुरा म्युनिख सुरक्षा सम्मेलनमा जेलेन्स्कीको व्यग्रताले पनि स्पष्ट गर्‍यो । त्यहाँ उनले युरोपेली संघसामु युक्रेनी सेनालाई नयाँ युरोपेली सैन्यशक्तिको नाभी बनाउन प्रस्ताव गरे । तर, यसले पनि काम गर्ने सम्भावना छैन । त्यसो गरिए, युरोपेली संघ र रुस प्रत्यक्ष टकरावमा आउनेछन् । युक्रेनी राष्ट्रपतिले ट्रम्पलाई युक्रेनी खनिज सम्पदामा लोभ्याउने प्रयास पनि गरे । तर, ट्रम्प प्रशासनले जेलेन्स्कीको सद्भावलाई बेवास्ता गर्दै युक्रेनी स्रोतमाथि साम्राज्यवादी शैलीको दाबी गर्न थालेको छ । तर, जेलेन्स्कीले अहिले जे गरिरहेका छन्, त्यो उनका घरेलु दर्शकहरूका लागि गरेजस्तो देखिँदै छ । आखिर, जेलेन्स्कीलाई देशवासीका सामु देखाउनु छ कि उनले सकेसम्म हरेक हिसाबमा प्रयास गरे । सबैभन्दा असम्भवजस्तो बाटो पनि हिँड्ने प्रयास गरे । यसका बाबजुद पश्चिमले उनलाई धोका दियो । यसले उनलाई अवश्वम्भावीको सामना गर्ने सामर्थ दिन सक्छन् ।

– अल जजिराबाट